शिवपार्वती संवादे: लोग्नेस्वास्नीले सिक्ने कुरा
डा. गोविन्दशरण उपाध्याय : "शिव-पार्वती संवादे"बाट : शिव महापुराणका प्रत्येक अध्यायको अन्त्य हुन्छ | शिव महापुराण होस् वा तन्त्रसाहित्य वा तुलसीदासले भोजपुरी भाषामा लेखेको "रामचरित मानस"मा पनि शिव र पार्वतीको सम्बादहरू राइछाई छन् | धेरैजसो पार्वतीका प्रश्नहरूको शिवले उत्तर दिएका छन् भने केही तन्त्रग्रन्थहरूमा शिवका प्रश्नहरूको महाकालीले उत्तर दिएकी छन् |
स्वस्थानीको ब्रत लिंदै गर्दा, स्वस्थानीको कथा सुन्दै गर्दा दुई जना पतिपत्नी अर्थात् शिवपार्वतीको सधैं प्रश्न गर्ने र उत्तर दिने प्राणाली, पार्वतीको प्रश्न सोध्ने शैली र शिवको उत्तर दिने शैली, एउटाले अर्कोलाई सम्बोधन गर्दा प्रयोग गरेका शब्दहरू, उत्तर मन नपर्दा पुन: प्रश्न गर्ने पार्वतीको शैली र शिवले पार्वतीको चित्त बुझाउने शैली सिक्नुपर्छ, बुझ्नु पर्छ र जीवनमा उतार्नुपर्छ | पतिपत्नीको सम्बन्ध जोड्नु सजिलो छ तर असल पतिपत्नी बनेर सुखी रहनका लागि एकआपसमा संवादको सघनता हुनुपर्छ |
दक्ष प्रजापतिले यज्ञको आयोजना गर्दा आफ्ना जेठ ज्वाई शिवलाई निम्तो दिएनन् | आफ्ना वहिनीज्वाईहरू यज्ञमा गएको देखेर "उमा"लाई पनि जान मन लाग्यो | आमावुवाको घर जाने हरेक छोरीहरूको स्वाभाविक चाहना हो | पार्वतीले आफ्ना चाहना व्यक्त गरिन् | शिवले सम्झाए "तपाईंका वुवाले मसंग राम्रो मान्नु हुँदैन | तेसैले नबोलाई कन जानु राम्रो हुँदैन | बाँकी तिम्रो मर्जी ! पार्वतीले शास्त्रको मर्म देखाउंदै भनिनन् "गुरू, देव मन्दिर र आमावुवाकोमा जान निमन्त्रण चाहिन्न |" शिवले भने "ठीकै हो तर जहाँ प्रेम छैन, त्यहाँ जानु उचित हुन्न | पार्वतीको मनले मानेन, उनी दक्षप्रजापतिको यज्ञमा हिडीन् | शिवले रोकेन् र हेरविचारका लागि आफ्ना सेवकहरू संगै पठाए |
दक्षले यज्ञमा उमाको स्वागत गरेनन् | यज्ञमा आफ्ना पतिको वेवास्ता देखेर बाबुदक्षसंग उमाको भनाभन भयो | उमाले आफ्ना पतिको अपमान सहन नसकेर समाधि लिइन् | त्यसपछिको कथामा, शिवले उमाको मृत शरीर बोकेर भारतवर्षका अनेकौं स्थानमा पुगे | अनि, ती ठाउँहरूमा आफ्नी प्रिय पत्नीको नाममा "शक्तिपीठ" स्थापना गरे | भारतको आगरा स्थित "ताज महल" प्रेमको प्रतिकको रूपमा विश्व प्रसिद्ध छ तर भगवान् शिवले आफ्नी पत्नी उमाको सम्झनामा स्थापित गरेका पीठहरू (मन्दिरहरू) देवी उमा र शिवको आध्यात्मिक उपासना गर्ने तीर्थका रूपमा सम्पूर्ण हिन्दूहरूका विचमा विद्यमान छन् | आज पनि तेहा शिवउमाको उपासना हुन्छ |
शिव र उमाको प्रेमकथा यहीं रोकिन्न | नेपालको पर्वत जिल्लामा उमाको पूनर्जन्म हुन्छ र पुन: उनले शिवसंग प्रेम गर्छिन् | हिमालयले पार्वतीको रोजाईको सम्मान गर्दै शिवसंग पार्वतीको विवाह गरिदिन्छन् | यसरी वैदिक संस्कृतिअनुसार पतिपत्नीको दाम्पत्य र प्रेम अनेकौं जन्मका लागि हुन्छ | पतिपत्नीको दाम्पत्य आध्यात्मिक तथा भौतिक सामर्थ्य प्राप्तिका लागि हुन्छ | पतिपत्नीको सम्वन्धलाई पार्टनरसीप मानेर काउन्सेलिंग गर्ने "काउन्सलर" सफल हुँदैन किनभने संस्कारको रूपमा विवाह र विवाहबाट निर्मित दाम्पत्य र यसको सेरोफेरिमा सृजित नेपाली लोग्नेस्वास्नीका समस्या र चाहना बुझ्न उपरोक्त संस्कृतिसंग परिचित भएको हुनुपर्छ |
विवाहित भए पनि सबै लोग्नेस्वास्नीको सम्बन्ध शिवपार्वतीकोझैं हुँदैन | पश्चिमा दम्पति र नेपाली दम्पतिका जीवन-जगत सम्बन्धि बुझाई फरक भएको हुनाले "How to save your Marriage" सिद्धान्तमा आधारित पश्चिमा काउन्सेलिंग र "How to better your marriage" भन्ने नेपाली लोग्नेस्वास्नीका समस्याहरू बुझ्न र उहाँहरूलाई सहयोग गर्न आफ्नै दृष्टिकोण चाहिन्छ | पश्चिमा कपल काउन्सलरका डेटाहरूले पति र पत्नी दूवैले संगै बस्न भन्दा पनि सजिलो तरिकाले छुट्टिने पक्षमा काउन्सलरसंग सहयोग प्राप्त गर्न चाहन्छन् भने नेपाली तथा भारतीय लोग्नेस्वास्नीको अभिमुखीकरण दाम्पत्य जोगाउनतिर बढी प्रेरित हुन्छ |
श्रीकृष्ण र रुक्मिणीका विचमा विवाह भयो | दूवैले एकआपसमा विवाह गर्ने इच्छा राखे तापनि रुक्मिणीका दाजुले कृष्णसंग विवाह गर्न नमान्दा कृष्णले रुकमिणीलाई भगाउनु पर्यो | विवाहपछि छोराछोरी जन्मिए | एक दिन कृष्ण र रुक्मिणी संगै थिए | कृष्णले रुक्मिणीतिर फर्केर भन्नुभयो "राजकुमारी ! तिम्रो चाहना गर्ने अनेकौं राजा थिए | मैले तिमीलाई उठाएर ल्याएँ | सायद मेरो त्यो गल्ती थियो | तेसैले आजको मितिमा तिमी फर्केर आफुले रोजेकासंग पुनर्विवाह गर्न चाहन्छौं भने मैले रोक्दिन ! रुक्मिणी र कृष्णका विचमा असाध्यै प्रेम थियो | यो सुनेर रुक्मिणी रून थालिन् | उनको मनमा असधयै पीडा भयो अन्त्यमा, वेहोस नै भईन् |
चेतना गुमाएकी आफ्नी पत्नी रुक्मिणीलाई कृष्णले पानी छ्म्केर होस्मा ल्याए | अनि भने "प्रिये, गृहस्थमा पतिपत्नी हुनुको सबैभन्दा ठूलो र महत्वपूर्ण लाभ नै एकआपसमा मन खोलेर रमाइलो गर्न पाइन्छ | दु:सुख साटासाट गर्न पाइन्छ | तेसैले हरेक लोग्नेस्वास्नीले एकआपसमा रमाइलो गर्न एकान्तमा समय खर्चनु पर्छ | समय र परिवेश विचार गरेर पत्नीले पतिको र पतिले पत्नीका कुराहरूको मुल्यांकन गर्नुपर्छ | यो प्रसंग भागवत महापुराणको १०/६० औं अध्यायमा लेखिएको छ | यो प्रसंगले पतिपत्नीले एकआपसका कुराहरूलाई सहज र सरलरूपमा बुझ्नुपर्छ, मूल्यांकन गर्नुपर्छ भन्ने स्थापित गर्छ |
उपरोक्त दूवै प्रसंगमा कृष्ण र शिवले आफ्ना पत्नीहरूप्रति अनन्य प्रेम प्रकट गरेका छन् भने पत्नीहरू उमा र रुक्मिणीले पनि आफ्नो विश्वासमा कुनै कमी गरेका छैनन् | यी दूवै प्रसंगमा एउटा तत्थ्य एकदम महत्वपूर्ण छ - पतिपत्नीमा एकआपसी सम्बाद, विश्वास र प्रेम निश्छल छ | वैदिक संस्कृतमा हुर्केका पतिपत्नीले जतिसुकै मन दु:खे पनि "जोडिने" प्रयत्न गर्छन् भने पश्चिमा संस्कृतिमा हुर्केका र तेसै संस्कृतिलाई आफ्नो मान्ने पतिपत्नीले "छुट्टिनु"लाई एकआपसी जीत मान्छन्, सेटेलमेन्टलाई महत्वपूर्ण ठान्छन् | उनीहरूका लागि त्यो ठीक होला तर हाम्रा लोग्नेस्वास्नीका लागि त्यो एउटा अर्धसत्य समाधान हो |
शिव तथा पार्वतीका संवाद केवल दन्त्यकथाजस्ता कथामात्र छैनन् | तिनको सम्बादमा कामसूत्रजस्तो विवाहित पतिपत्नीका यौनउत्सुकता, यौनसंचारसहित विवाह, दाम्पत्य, दाम्पत्यका समस्या तथा तिनको निराकरण गर्दै पुनस्थापित गर्ने विधिहरूको सिलसिलेवार परामर्शहरू छन् | वाद, विवाद र संवाद विधिमा आधारित कामसूत्रले पतिपत्नीका समस्यामा होइन पारिवारिक दायित्वलाई सरल तथा सहजतवरले सम्पादन गर्दै दाम्पत्य जीवनलाई चीरस्थायी बनाउने उपाय स्थापित गरिएको छ | हो, आजको समय र परिवेशमा कतिपय उपायहरूको उपयोगिता परिवर्तित भएका होलान् तर दाम्पत्य, दम्पतिका एकआपसी चाहनाहरू, भावनाहरू, समस्याहरू तथा ती समस्याहरूको समाधान हुनुपर्छ भन्ने मान्यता र आवश्यकतामा कुनै फरक परेको छैन |
सुखमय र खुशी दाम्पत्यका लागि एकान्तमा बसेर पतिपत्नी दुवैले वाद, विवाद र सम्बाद गर्ने अभ्यास गर्नुपर्छ | पति वा पत्नी मध्ये जोसुकैले अगाडी बढेर वा झुकेर अग्रसरता लिए हुन्छ | यदि पतिसंग पत्नी र पत्नीसंग पतिलाई डर लाग्छ भने यस्तो दाम्पत्य दाम्पत्य कम र दासता बढी हो | तेसैले पतिपत्नीको एकआपसमा "शिवपार्वती सम्वादे" हुनैपर्छ | यस्तो सम्बाद धैर्य, प्रेम र समस्या समाधानका लागि हुनुपर्छ | पतिपत्नीका एकआपसी विवादहरू स्वस्थान अर्थात् आ-आफ्नो ठाउँमा लचिलो, आँटिलो, धैर्यवान्, प्रेमी भएरमात्र समाधान हुन्छन् | समस्या नभए गृहस्थ जीवनलाई सुखी र खुसी बनाउने नयाँनयाँ मायालु बाटाहरू खुल्दै जान्छन् |
लोग्नेस्वास्नी असल मित्रमात्र होइन सबैभन्दा असल सहयोगी पनि हुन् | संगै भोजन गरेर, संगै हिंडेर, एकआपसमा संवाद गरेर, एकअर्कालाई तेस्रो पक्षको आक्रमणबाट सुरक्षित गर्दै अगाडी बढौं | घर नै स्वर्ग हुन्छ |