सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ विश्वकप: नेपाल आज बंगलादेशको सामना गर्दै

२०८० माघ १७, ०७:४९ खबर संवाददाता

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बुधबार बंगलादेशको सामना गर्दै छ। नेपाल समूह ‘डी’को तेस्रो तथा बंगलादेश समूह ‘ए’को दोस्रो स्थानमा रहँदै एकआपसमा प्रतिस्पर्धा गर्न लागेको हो। यू–१९ विश्वकप इतिहासमा नेपालले तीनपटक पहिलो चरण गरेको छ।

यसपटक देव खनालको कप्तानीमा रहेको नेपालले समूह ‘डी’को अन्तिम खेलमा अफगानिस्तानमाथि एक विकेटको सनसनी जित निकाली सुपर सिक्स स्थान पक्का गरेको हो। नेपालले एक दशकपछि अफगानिस्तानको युवा टोलीलाई हराएको हो। यू–१९ विश्वकपमा नेपालले बंगलादेशविरुद्ध आठ वर्षअघि प्रतिस्पर्धा गरेको थियो।

बंगलादेशमै आयोजना भएको विश्वकपमा नेपाल पहिलोपटक क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको थियो। पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ११ रनको योगफल खडा गरेको थियो। प्रत्युत्तरमा बंगलादेशले ४८.२ ओभरमा चार विकेटको क्षतिमा दुई सय १५ रन जोड्दै सेमिफाइनल स्थान पक्का ग¥यो।

दक्षिण अफ्रिकामा चलिरहेको यू–१९ विश्वकपमा नेपालका लागि कप्तान देवले ब्याटिङतर्फ स्तरीय प्रदर्शन गरेका छन्। अफगानिस्तानसँगको खेलमा उनले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले तीन खेलमा एक सय १७ रन जोडेका छन्। यसैगरी अर्जुन कुमालले तीन खेलमा एक सय ६ रन बनाएका छन् । यसैगरी, दीपेश कँडेलले तीन खेलमा चार विकेट हात पारेका छन्।

प्रतियोतिगामा आकाश चन्दको बलिङले निरन्तरता पाउँदा बंगलादेशका ब्याट्सम्यान धरापमा पर्न सक्छन्। आकाशले अफगानिस्तानविरुद्ध पाँच विकेट लिएका थिए। समग्रमा उनले तीन खेलमा नेपाली टोलीबाट सर्वाधिक आठ विकेट लिएका छन्। प्रतियोगितामा नेपालको ब्याटिङमा एकरूपता हुन सकेको छैन। बलिङमा नेपाली बलरले एकनाशको प्रदर्शन गरेका छन्। टेस्ट मान्यता राष्ट्रको बंगलादेशी युवा टोलीमाथि नेपाली युवा खेलाडीले दुवै पक्षमा गतिलो प्रदर्शन गर्ने अपेक्षा छ।

कमेन्ट लोड गर्नुस