सहिद दिवसको अवसरमा धनगढीमा दीप प्रज्वलन
धनगढी : धनगढीमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ। राप्रपा विद्यार्थी संगठनले दीप प्रज्वलन गरेका हुन्। उनीहरूले मङ्गलवार साँझ धनगढीको दशरथ भीम उद्यान अगाडी दीप प्रज्वलन गरेका छन्।
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदहरू उनीहरूले श्रद्धापूर्वक दीप बालेका हुन्। नेपालमा माघ १६ गते सहिद दिवस मनाइन्छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा सहिद दिवस मनाउने गरिएको छ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो।
विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।