सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा माओवादी दल नेताको किचलो पार्टीमा फैलियो

२०८० माघ १३, ०७:०४ कमल सावद

धनगढीः सुदूरपश्चिममा माओवादी संसदीय दलको नेताको किचलो पार्टीमा फैलिएको छ। प्रदेश संसदीय दलको नेता रहेको खगराज भट्टलाई दलको नेताबाट हटाएपछि पार्टीको प्रदेश कमिटी उनको पक्षमा उभिएको हो।

माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरि चौधरी (उत्सव)ले पार्टीको निर्देशन बिना दलको नेता फेरिएको भन्दै विज्ञप्ति जारी गर्ने बताए। उनले माओवादी केन्द्रबाट विजयी ६ जना प्रदेश सभा सदस्यले गल्ती गरेको दाबी गरेका छन्। उनीहरूको निर्णय उल्टिने देखिएको छ। तर, माओवादी केन्द्रको बैठक जारी रहेको छ।

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो। भट्टलाई हटाएर धामीलाई दलको नेता चयर गरेपछि माओवादी पार्टीमा किचलो बढेको छ। माओवादी केन्द्रबाट विजयी प्रदेश सभा सदस्यहरू शिव सिंह ओली र ओम विक्रम भाट (सरल)लाई मन्त्री बन्न हतार भएकाले यस्तो निर्णय भएको तर्क माओवादी केन्द्रका नेताहरूको छ। 

माओवादी स्रोतका अनुसार ओलीले सामाजिक विकास मन्त्री र भाटले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा चासो दिएका छन्। अहिले सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपट साउँद र वन मन्त्रीमा माओवादीकै रमेश धामी रहेका छन्। ओलीले सभामुखमा चासो दिएका थिए। तर, उनी सभामुख नभएपछि मन्त्रीका लागि केन्द्रीय नेताहरूलाई दबाब दिदै आएका छन्। 

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११ सदस्य छन्। अहिले उनीहरू दुई भागमा विभाजन भएका छन्। दलको नेता फर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरू शिवसिंह ओली, ओम विक्रम भाट (सरल), राज्यमन्त्रीसमेत रहेकी गीता देवी माल र लक्ष्मी विकले हस्ताक्षर गरेका छन्।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस