सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेलिकमको ‘कबाड’ बिक्रीमा करोडको घोटाला, छानबिन गर्न समिति गठन

२०८० पुष २६, ०९:४३ कमल सावद

धनगढीः नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, अत्तरियाले बिक्री गरेको कबाडमा घोटाला भएको भन्दै छानबिन सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा समिति गठन गरिएको हो।

तीन वटा सुरक्षा निकायका प्रमुखहरू समितिको सदस्य रहेका छन्। बुधवारदेखि उनीहरूले छानबिन सुरु गरिएको जोशीले बताए। तर, कबाडको ठेक्का पाएको बिएसएल कन्स्ट्रक्सन काठमाडौँका प्रमुख तथा प्रतिनिधि सम्पर्कमा नआएकोले छानबिनमा समस्या भएको छ। जोशीले भने, ‘हामी हिजो अत्तरिया गएका थियौ। टेलिकमसँग कुरा भयो। तर, कम्पनीका मान्छे आउनु भएन। आज आउछौ भन्नु भएको छ। आज आएपछि कुरा गर्छौ।’

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, अत्तरियाले ठेक्कामा कम तौलको तामाजन्य कबाड समावेश गरेर बढी तौल बिक्री गरेको आरोप लागेको छ। टेलिकमका सुदूरपश्चिमका विभिन्न गोदामहरूमा रहेका कबाड कम्पनीले ढुवानी थालेका बेला विवाद आएको हो। २०८० मंसिर २२ गते कम्पनीले दूरसञ्चार निर्देशनालयको खातामा आठ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ पूर्ण रकम धरौटी जम्मा गरेको थियो। सम्झौता अनुसार कम्पनीले ९६ टनका उक्त रकम बैँकमा धरौटी जम्मा गरेको हो। टेलिकमको प्रादेशिक कार्यालय, अत्तरियाका अनुसार ९६ टनको अनुमान गरिएको भएपनि बढी तोल भएपछि कम्पनीले खरिद गर्नुपर्ने छ।

टेलिकमको कबाड चोरी पैठारी भएको भन्दै विरोध भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा गत आइतवार कबाड ढुवानी गर्ने ट्रकलाई नियन्त्रणमा लिइएको थियो। टेलिकमको अभिलेखभन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झन्डै दोब्बर देखिएपछि अनियमितताको आशङ्कामा छानबिन सुरु गरिएको हो।

गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५ दशमलव ६७९ टन) निकासी भएको अभिलेख टेलिकमको छ। तर, प्रहरीले नियन्त्रणमा लिइएका दुई वटै लोड ट्रकको तौल ५१ हजार ८३५ किलो (५१ दशमलव ८३५ टन) देखिएको छ। दुई वटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीले आइतवार गेटाबाट नियन्त्रणमा लिएको थियो। उक्त लोड ट्रकको तौल २७ हजार ८३५ किलो (२७ दशमलव ८३० टन) छ।

गेटाबाटै समान लोड गरेर नेपालगन्ज जाँदै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतवारनै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको थियो। उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) रहेको थियो। १२ चक्के खाली ट्रकको तौल अधिकतम १२ टन हाराहारी हुन्छ। दुबै खाली ट्रकको तौल २४ टन मात्र छ। कूल तौलमा बाँकी २७ दशमलव ८३५ टन टेलिकमबाट उठाएको समान छ। तर, टेलिकमको अभिलेखमा भने १५ दशमलव ६७९ टन मात्र उल्लेख छ। त्यस हिसाबले १२ दशमलव १५७ टन तामाजन्य सामान टेलिकमबाट अनियमितता भएर निकासी भएको अनुमान प्रहरीको छ। कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित कबाड ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको छ। १२ दशमलव १५७ टन हिनामिना भएको देखिएको छ। उक्त परिमाणको खरिद मूल्य एक करोड तीन लाख ४३ हजार ४१८ रुपैयाँ हुन आउँछ।

पुस ६ गतेदेखि कम्पनीले सामग्री सङ्कलन सुरु गरेको थियो। हालसम्म ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरिसकेको अभिलेख छ। जसअन्तर्गत धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ। सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस