सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेलिकमका कर्मचारीले कवाडको ठेक्का पारेर आर्थिक लाभ लिएको आरोप

२०८० पुष २२, १०:३६ खबर संवाददाता

धनगढीः  नेपाल टेलिकमका कर्मचारीले कवाडको ठेक्का पारेर ठेकेदारबाट आर्थिक लाभ लिएको आरोप लागेको छ।

कार्यालयले ८ करोडमा तामाजन्य वस्तुका लागि लगाएको ठेक्कामा कार्यालयकै मिलेमतो रहेको स्थानीयको आरोप छ। कार्यालयको मिलेमतो भएको भन्दै ठेक्का प्रकृयामार्फत नै विक्रिवितरण गरिएका तामाजन्य कवाड सामग्री बोकेका ट्रकहरु आइतवार साझ स्थानीय युवाहरुले नियन्त्रणमा लिएका छन्।

युवाहरुले टेलिकम कार्यालयको मिलेमतोमा सम्झौता विपरीत उक्त कवाड सामग्री ठेकेदारले चोरी–पैठारी गरिरहेको आरोप समेत लगाएका छन्। यता नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले ठेकेदार कम्पनीले तौलकै आधारमा कवाड उठाएको बताए। उनले आफुहरुले तौल बराबरको बिल लिएको र सोही अनुसार ठेकेदार कम्पनीले कवाड उठाएको बताए।

उनले तौल नगरेको शंका लागेमा प्रहरीको रहोबरमा पुनः तौल गरिने बताए। टेलिकमको सुदूरपश्चिम प्रदेश भरीकै कवाड उठाउने जिम्मा काठमाण्डौको बिएलएस कन्स्ट्रक्सनले पाएको छ। कार्यालयले इ–विडिङ्ग मार्फत ठेक्का लगाउदा सो कम्पनीले ठेक्का पाएको हो। उक्त कम्पनीलाई प्रदेशभरीमै करिब ९६ टन कवाड उठाउनका लागि प्रतिकिलो भ्याट बाहेक ७५३ रुपैयामा ठेक्का सम्झौता गरेको निर्देशक भट्टले बताए।

उनले ठेकेदार कम्पनीसँग तौल अनुसारको कवाड वाफतको रकम लिने सम्झौता भएको बताए। उनले प्रदेशभरीकै लागि अनुमानित ९६ टनको ठेक्का भएकाले सो बराबरको रकम ठेकेदार कम्पनीबाट टेलिकमले लिइसकेको बताए। उनका अनुसार केही महिनाअघि प्रदेशका ९ वटै कार्यालयबाट तामाजन्य कवाड बिक्रिका लागि बीएनएस कन्सट्रक्सनसँग ८ करोड बढीमा ठेक्का सम्झौता गरिएको छ।  सम्झौता अनुसार कवडा सामग्री बढी भए अनिवार्य सो बराबरको रकम बुझाउनुपर्ने र कम भए टेलिकमले फिर्ता गर्ने सर्त रहेको उनले बताए। उनका अनुसार बढी सामान भए सो अनुसारको रकम नबुझाएमा धरौटी जफत गर्ने समेत सम्झौता रहेको छ।
 

कमेन्ट लोड गर्नुस