कैलाली र कञ्चनपुरबाट तीन लाख ६९ हजारका सामान बरामद
धनगढीः प्रहरीले कैलाली र कञ्चनपुरबाट तीन लाख ६९ हजारका भन्सार छलीका सामान बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर र वडा नम्बर ३ भन्सार कार्यालय क्षेत्रबाट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालयबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।
त्रिनगरबाट ६४ हजार सात सय मूल्यका गाडीका विभिन्न पाटपुर्जासहित एक जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–६ का ३९ वर्षीय शेरबहादुर खयाडत पक्राउ परेका हुन्। शनिवार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ। भन्सार छलीका सामानसहित शेरबहादुरलाई कैलाली भन्सार कार्यालयको जिम्मा लगाइएको छ।
यतै, कैलाली भन्सार कार्यालय क्षेत्रबाट ४८ हजार ६० रुपैयाँका चिनी, मिठाई, नरिवल, सरप, मसला, पानीपुरी, बिस्कुट लगाएतका सामान बरामद गरिएको हो। प्रहरीले भन्सार कार्यालय अगाडिबाट बेवारिसे सामान फेला पारेको बताएको छ।
उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालय क्षेत्रबाट दुई लाख एक हजार २० रुपैयाँका सुट, ज्याकेट, खाद्यान्न, हार्डवेयरका सामान बरामद गरिएको छ। शनिवार साँझ प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो।