सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा महिला घरमुली बढे, कस्तो छ अन्य अवस्था?

२०८० पुष २०, ०६:५८

धनगढीः सुदूरपश्चिममा महिला घरमुलिको संख्या बढ्दै गएको छ। प्रदेशभित्र कुल जनसंख्याको एक तिहाइ १५ वर्षमुनिको जनसंख्या रहेको छ।

३३ प्रतिशत जनसंख्या १५ वर्षमुनिको रहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले देखाएको छ। सर्वेक्षणले परिवारमा महिला घरमुलीको प्रतिशत पनि बढेको देखाएको छ। ३८ प्रतिशत घरपरिवारमा महिला घरमुली रहेको सर्वेक्षणले देखाएको हो। साथै रोजगारीमा महिलाको संलग्नता बढेर ५९ प्रतिशत पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा कुल जनसंख्याको एक तिहाइ १५ वर्षमुनिको जनसंख्या रहेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले १५ वर्षमुनिको जनसंख्या ३३ प्रतिशत रहेको देखाएको हो। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण नतिजामा सुदूरपश्चिमका ३८ प्रतिशत महिला परिवारमा घरमुली रहेको पाइएको छ भने ५९ प्रतिशत महिला रोजगारीमा संलग्न रहेको पाइएको छ।

सुदूरपश्चिममा ७२ प्रतिशत पुरुष रोजगारीमा संलग्न रहेको सर्वेक्षणले देखाएको छ। सुदूरपश्चिममा औसत परिवार सदस्य संख्या ४ दशमलव २ रहेको छ। सुदूरपश्चिममा मध्यम वा गम्भीर खाद्य असुरक्षा भएका घरपरिवारको प्रतिशत १३ छ भने पञ्जिकरण प्रणालीमा जन्मदर्ता भएका ५ वर्षमुनिका बालबालिकाको प्रतिशत ८१ पुगेको छ। सुदूरपश्चिमका ९४ प्रतिशत बालबालिका प्रारम्भिक बाल बिकास वा प्राथमिक विद्यालयमा पढीरहेको सर्वेक्षणले देखाएको छ।

इन्टरनेट प्रयोग गर्ने १५–४९ वर्षका महिला र पुरुषको प्रतिशत क्रमशः ५९ र ७० प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले सुदूरपश्चिममा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका १५ देखि ४९ वर्ष उमेरका महिला ९ प्रतिशत र पुरुष ४६ प्रतिशत रहेको उल्लेख छ। त्यस्तै, ३९ प्रतिशत पुरुष र १० प्रतिशत महिलाले मदिरा सेवन गर्ने तथ्या सर्वेक्षणले देखाएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले सुदूरपश्चिममा ९७ प्रतिशत घरधुरीमा आधारभूत सुबिधा सहितको खानेपानीको उपलब्धता तथा ७१ प्रतिशत घरधुरीमा आधारभूत सुबिधासहितको शौचालय रहेको देखाइएको छ। तर, प्रजनन उमेर समूहका थोरै मात्रै पुरुष र महिलाले मात्रै स्वास्थ्य बीमा सेवा उपभोग गरेकोमा पाइएको छ। 

प्रजनन उमेर समूहका ९२ प्रतिशत पुरुष र महिलाले स्वास्थ्य बीमा नलिएको सर्वेक्षणले देखाएको छ। सुदूरपश्चिममा प्रजनन उमेर समूहका महिलाले बच्चा जन्माउने दर २ दशमलव ३ रहेको पाइएको छ। यसैगरी, नवजात शिशु मृत्यु दर प्रति एक हजार जीवित जन्ममा ६७ छ भने ६ हप्ताभित्रको नवजात शिशु मृत्यु प्रती एक हजारमा १३ र शिशु मृत्युदर ४० रहेको छ। प्रदेशभित्र पाँच वर्षमुनिको बाल मृत्युदर ४९ र  पूर्णखोप लिएका बालबालिका जम्मा ५४ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ।

कमेन्ट लोड गर्नुस