रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप एक जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ। मृत्यु हुनेमा कुन्दन सिंह नागल रहेका छन्। सरकारले यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका थिए। सरकारले ज्यान गुमएका नेपालीहरूको शव पठाइदिन आग्रह गरेको छ।
मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत् रुसी सेनामा भर्ना भई निधन भएका नेपालीहरूको शव यथाशीघ्र नेपाल पठाउन र घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन समेत अनुरोध गरेको छ। सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत् रुसी सरकारलाई आग्रह गरेको छ।