सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा युद्धविराम गर्न फ्रान्सको आह्वान

२०८० पुष २, ०८:३२ खबर संवाददाता

फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि आह्वान गरेकी छन्। युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको उनले बताएकी हुन्।

कोलोनाले तेल अभिभमा आफ्ना इजरायली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भनिन्, ‘धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को आक्रमणपछि इजरायलले आक्रामक रूपमा दबाब दिँदा सम्पूर्ण क्षेत्रमा तनाव बढेको छ।’

प्यालेस्टिनी विद्रोही समूह हमासका अनुसार गाजामा युद्धविरामका लागि इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ। गाजामा हमासविरुद्धको युद्धमा अधिकांश महिला र बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ  इजरायली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १ हजार १ सय ४० जनाको मृत्यु भएको थियो। हमासले २ सय ४० जनालाई बन्धकसमेत बनाएको थियो।

मन्त्री कोलोनाले यौन हिंसामा परेकालगायत हमासको आक्रमणका पीडितहरूलाई बिर्सन नहुनेमा जोड दिइन्। इजरायली विदेशमन्त्री कोहेनले लेबनानमा युद्ध रोक्नका लागि फ्रान्सले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। इजरायल दक्षिणी लेबनानमा सशस्त्र समूह विशेष रूपमा शक्तिशाली इरान समर्थित हिजबुल्लाह समूहसँग नियमित रूपमा सीमापार गोलीबारीमा सामेल भएको छ। ‘इजरायलको उत्तरी सीमामा अर्को मोर्चा सुरु गर्ने कुनै मनसाय छैन तर हामी आफ्ना नागरिकहरूको सुरक्षाका लागि जे गर्नुपर्छ त्यो गर्नेछौं,’ कोहेनले भने।

कमेन्ट लोड गर्नुस