सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा तत्काल युद्धविराम गर्न राष्ट्रसंघीय महासभाको माग

२०८० मंसिर २७, ११:१९ खबर संवाददाता

काठमाडौँ: संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल युद्धविरामको माग गरेको छ। मंगलबार महासभामा भएको मतदानमा बहुमतले गाजामा तत्काल युद्धविरामको माग गरेको हो। महासभाबाट बहुमतले पारित भएको प्रस्तावमा तत्काल मानवीय युद्धविराम, सबै बन्धकलाई बिनाशर्त तत्काल रिहा गर्न र मानवीय पहुँच सुनिश्चित गर्न माग गरिएको छ। 

प्रस्तावको पक्षमा नेपाल, भारत, चीन, रुस, जापान, अस्ट्रेलियालगायतका १५३ मुलुकले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा इजरायल, अमेरिका, अस्ट्रियालगायतका १० देशले मतदान गरे। त्यस्तै अर्जेन्टिना, युक्रेन, जमर्नी, बेलायतलगायतका २३ देश भने मतदानमा अनुपस्थित रहे।

इजरायल र हमासबीच गत अक्टोबर ७ यता लगातार संघर्ष चलिरहेको छ। बीचमा ६ दिन संघर्षविराम भए पनि पुनः इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ। यस बीचमा हमासले १०० बन्धक छाडेको छ त्यस्तै इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ। अझै पनि हमासको कब्जामा नेपालका विपिन जोशीलगायतका विभिन्न मुलुकका नागरिक रहेका छन् ।

कमेन्ट लोड गर्नुस