६ लेन सडकमा जथाभावी राखिएका निर्माण सामाग्रीले दैनिक दुर्घटना हुँदै (भिडियो रिर्पोट सहित)
आईतबार राति घर फर्कदै गर्दा होटेल व्यवसायी संघ कैलालीका महासचिव तथा धनगढीको क्रिष्टल होटलका सञ्चालक केशवदत्त पाण्डेयका छोरा अशोक पाण्डे सवार मोटरसाइकल बोराडाँडीमा दुर्घटना हुँदा उनको अकालमै ज्यान गयो । अर्को सवारी साधनले ठक्कर दिदा पाण्डेयको मृत्यु भएको प्रहरीले बताए पनि ठक्कर दिने सवारी साधन के थियो भन्ने बारेमा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन । मृतकका आफन्तहरुले भने सडकमा थुपारीएका निमार्ण सामाग्रीका कारण दुर्घटना भएको बताएका छन । यसअघि गएको माघमा पनि ६ लेन सडकको बोराडाँडीमै बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको थियो ।
यी घटनाहरुले निमार्णाधीन ६ लेन सडक छेउमा थुपारिएका निर्माण सामाग्रीले दुर्घटनाको जोखिम बढाएको प्रष्ट हुन्छ । निर्माणाधीन मोहनापुल अत्तरिया ६ लेन सडकको ठेक्का नम्बर १ मोहनापुलदेखि बोराडाँडीसम्म अव्यवस्थित रुपमा निर्माण सामाग्री थुपारिदा सडक असुरक्षित बन्दै गएको हो । निमार्णाधीन ६ लेन सडकमा हाल दिनहँु साना ठुला दुर्घटना भईरहेको बोराडाँडीका स्थानीय लक्ष्मण भट्टराईले बताए । एकातिर सडक छेउमा जथाभावी निमार्ण सामाग्री थुपारिएका छन भने अर्काेतिर सडकमा निर्माण व्यवसायीहरुकै टिप्पर र ट्रयाक्टर अनियन्त्रित गतिमा चल्ने गरेका छन् । योसंगै सडकभरी ठेला व्यवसायीहरुले ठेला राखेर व्यापार पनि गरिरहेका छन् । जसले गर्दा दुर्घटनाको खतरा झनै बढेको छ ।
सडक क्षेत्र नै कब्जा गर्ने गरी निर्माण समाग्री जम्मा गरी सडक असुरक्षित भएर दिन प्रतिदिन दुर्घटना भइरहे पनि नियमनकारी निकायले कुनै वास्ता नगरेको बोराडाँडीकै अर्का स्थानीय डम्बर बहादुर कार्कीले बताए । स्थानीय प्रजल ठकुराठीले निर्माण व्यवसायीले काम सुरु नगरी जथाभावि थुपारेका निर्माण समाग्रीले दुर्घटना भइरहेपनि सम्बन्धित निकायको वेवास्ता गरेको जनाए । सडक छेउमा जथाभावी राखिएका निर्माण सामाग्री हटाई व्यवस्थित पार्न स्थानीय वासिन्दाले पटक पटक आयोजना कार्यालय र धनगढी उप महानगरपालिकालाई आग्रह गरेपनि सुनुवाई नभएको बताएका छन । तर धनगढी उपमहानगरपालिकाले भने निमार्ण व्यवसायी र आयोजना कार्यालयले निर्देशन नमानेको भन्दै पन्छीईरहेको छ । धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कामलाई तिव्रता दिन र जथाभावि राखिएका निर्माण समाग्री हटाउन आग्रह गर्दै आएपनि वेवास्ता गरिएको दावी गरे ।
यता ६ लेन सडक निर्माण आयोजना कार्यालयले भने सडक निमार्णमा केही ढिलाई भएपनि निर्माण सामाग्रीले दुर्घटनाको जोखिम नबढाएको दावी गरेको छ । दिनहँु साना ठुला दुर्घटना भई मानिसहरु घाईते हुनुका साथै ज्यान समेत गुमिरहेका बेला आयोजना कार्यालयका प्रमुख मनिष कुमार साह भने निमार्ण सामाग्रीका कारण दुर्घटना नभएको जिकिर गरे । ६ लेन सडकका लागि माटो बोक्ने टिपरहरु अनियन्त्रीत गतिमा हुईकिने गरेका कारण पनि दुर्घटनाको जोखिम बढेको छ भने तिव्र गतिमा गुडेका सवारी साधनले उडाउने धुलोले नगरवासीलाई सताएको छ । तर निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनको गति घटाई सडक क्षेत्र व्यवस्थित गर्न ट्राफिक प्रहरीले पनि चासो दिएको छैन ।
धेरै सवारी साधन गुड्ने र वाक्लो वसोवास सहित वजार रहेको मोहनापुलदेखि बोराडाँडीसम्मको सडक खण्डको निर्माण सुस्त राखेर भईरहेको लापरवाहीले सोझा साझा जनताले दुःख पाईरहेका छन् । काम सुरु नै नगरी व्यस्त सडकका दुवै छेउमा राखिएका निर्माण समाग्रीले असुरक्षा बढाएको हो । सडक क्षेत्र नै कब्जा गर्ने गरी राखिएका निर्माण समाग्रीले दैनिक जसो दुर्घटना भईरहेको छ ।