सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वविद्यालयबारे डा. केसीको अभिव्यक्तिप्रति संघर्ष समितिको आपत्ति, भ्रम नफैलाउन आग्रह

२०८३ साउन ९, ०८:३० खबर संवाददाता

 

धनगढी: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डा. गोविन्द केसीले विश्वविद्यालय स्थापनासम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमेली जनताको दशकौं लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने तथा भ्रम सिर्जना गर्ने अभिव्यक्ति स्वीकार्य नभएको जनाएको हो।

विज्ञप्तिमा गोदावरी नगरपालिका–५, कैलालीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यसलाई सुदूरपश्चिमेली जनताको ऐतिहासिक उपलब्धि र साझा गौरवको विषय भएको बताइएको छ।

समितिले डा. केसीले हालै धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालय घोषणाका सन्दर्भमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रूपमा विकास गर्नु उपयुक्त हुने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसप्रति असहमति जनाएको छ। समितिका अनुसार डा. केसीले विगतदेखि नै विश्वविद्यालय स्थापना र सञ्चालनका विषयमा सार्वजनिक रूपमा नकारात्मक धारणा व्यक्त गर्दै आएको आरोप लगाएको छ।

यद्यपि, डा. केसीले उठाएका केही विषय भने आफूहरूले पनि गम्भीर रूपमा लिएको समितिले जनाएको छ। विशेषगरी उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ को प्रतिकूल भएको भन्ने आरोपले विश्वविद्यालय सञ्चालनसम्बन्धी थप अन्योल र भ्रम सिर्जना गरेको भन्दै समितिले सम्बन्धित निकायसँग नियुक्ति प्रक्रियाबारे स्पष्ट, आधिकारिक र तथ्यपरक जानकारी सार्वजनिक गर्न माग गरेको छ।

समितिले विश्वविद्यालय सञ्चालनसम्बन्धी देखिएका विवादको यथाशीघ्र समाधान गरी सुदूरपश्चिमेली जनतामा फैलिएको अन्योल अन्त्य गर्न सरकारसँग आग्रह गरेको छ।

साथै, पछिल्ला दिनमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत विश्वविद्यालयको वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी अपुष्ट र भ्रामक सामग्री प्रसारण भएको भन्दै समितिले सत्यतथ्यमा आधारित, जिम्मेवार र सन्तुलित समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तासमेतलाई अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस