सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासमा छ वर्षदेखि प्रयोगविहीन विद्युत् संरचना, वडामा लगाइयो ताला

२०८३ मंसिर २, १२:३४ खबर संवाददाता

धनगढीः बैतडीको सिगास गाउँपालिका–१ मा विद्युत् लाइन विस्तार तथा व्यवस्थित नगरिएको भन्दै स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन्। लामो समयदेखि विद्युत् लाइन जडान तथा मर्मतसम्भारको समस्या भोग्दै आएका स्थानीयले सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न वडा कार्यालयसँग माग गरेका हुन्।

स्थानीयका अनुसार विद्युत् लाइन विस्तारका लागि आवश्यक तार, पोल तथा ट्रान्सफर्मरसमेत जडान गरिए पनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका छन्। विद्युत् सामग्रीमा लगानी भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसक्दा स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ।

विद्युत् लाइन जडान संघर्ष समितिका संयोजक भानसिंह धामीको अध्यक्षतामा बसेको बैठकले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। यसअघि वडा कार्यालय जुकेपानीमा विद्युत् लाइन जडान संघर्ष समितिका संयोजक तथा आम उपभोक्ताबीच भएको सहमतिअनुसार वडा कार्यालय, गाउँपालिका कार्यालय र विद्युत् कार्यालय बैतडीबाट ठोस निर्णय हुन नसकेको बताइएको छ।

विद्युत् लाइन जडानका लागि आवश्यक सामग्री तथा पूर्वाधारमा लगानी भइसके पनि करिब छ वर्षदेखि ती सामग्री प्रयोगविहीन रहेको स्थानीयको भनाइ छ। यस विषयमा सरोकारवाला निकाय र स्थानीय सरकारले समेत चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

बैठकले विद्युत् लाइन जडानको समस्या समाधानका लागि आवश्यक पहल गर्न वडा नम्बर १ को कार्यालयमा मागपत्र पेस गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। स्थानीयले विद्युत् सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै जडान गरिएका तार, पोल र ट्रान्सफर्मर उपयोगमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

कमेन्ट लोड गर्नुस