कैलालीमा अपराध संहिता विपरीत बहुविवाह, तीन वर्षमा १२३ मुद्दा दर्ता
धनगढीः कैलालीमा मुलकी अपराध संहिता विपरीत बहुविवाह गर्नेको संख्या बढ्दै गएको छ। मुलुकी अपराध संहिताको खिल्ली उडाउँदै जिल्लाभित्र धमाधम बहुविवाह गर्नेको संख्या बढ्दै गएको हो। जिल्लामा तीन वर्षको अवधिमा मात्र एक सय २३ बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएका छन्।
अपराध संहिताको दफा र उपदफालाई नै छलेर यसरी बहुविवाह गर्नेको संख्या बढ्न थालेको हो। यस्ता अधिकांश केसहरु प्रहरी एवं अदालतसम्म समेत पुग्ने गरेका छैनन्। मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ। अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ।
बहुविवाह गरेमा वा गराउने कार्य गर्ने व्यक्तिलाई समेत पाँच वर्षसम्म कैद हुने र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। यस्तो व्यवस्था हुँदाहुँदै पनि कैलालीमा वहुविवाह गर्नेको संख्यामा कमी आउन सकेको छैन्। आर्थिक वर्ष २०७७/७८ मा मात्र बहुविवाहका ४८ मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांक छ। बहुविवाह बर्जित भएको धेरै वर्ष बितिसक्दा पनि कतिपय नेता र समाजका सेलिब्रिटीहरु नै बहुविवाहको चक्करमा पर्दा चर्चाको विषय बन्ने गरेका छन्।
प्रेम र सम्बन्ध यसै पनि धेरैले ख्याल गर्ने मानवीय चासो र सरोकारका विषय हुन्। कानुनले विवाहलाई एक ‘पवित्र सामाजिक तथा कानुनी बन्धन ‘मानेको भए पनि यसलाई खेलौनाको विषय बनाएका प्रशस्तै उदाहरणहरु छन्। कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा मात्र बहुविवाहका थप ४१ मुद्दा प्रहरीमा दर्ता भएको अभिलेख छ।
मुलुकी देवानी संहिताको दफा ६७ ले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मान्दछ। विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी तथा स्वतन्त्र सहमतिमा आधारित पवित्र सामाजिक र कानुनी बन्धनको रुपमा समेत परिभाषित गरिएको छ। तर घरमा श्रीमती हुँदाहुँदै फेरी अर्को विवाह गर्ने पुरुषको संख्या अधिक देखिएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा मात्र कैलालीमा ३४ बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएको पाइएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (४) मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। बहुविवाह विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता हुनेक्रम बढ्दो क्रममा देखिएको छ।