कञ्चनपुरका विभिन्न स्थानबाट करिब ३ लाख बराबरका भन्सार छलि सामान बरामद
कञ्चनपुर: कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छलि गरी ल्याइएका सामान बरामद गरेको छ।
आइतबार भीमदत्त नगरपालिका–४ मदनचोक र बेलौरी नगरपालिका–६ भुराकोट क्षेत्रबाट अन्दाजी मूल्य रु. २ लाख ८९ हजार १०० बराबरका सामान बेवारिसे अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामग्रीमा सुटको थान कपडा, साडी, माछा लगायतका वस्तु रहेका छन्।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।