सुदूरपश्चिममा ‘हाइप्रोफाइल’को नाममा ठगी, एक जना प्रहरी खोरमा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कालिकोट शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाललाई कैलाली प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको हो। अम्मरले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भन्दै प्रदेशका विभिन्न जिल्लाका कृषि कार्यालयमा काम गर्ने कर्मचारीलाई फोन गरी पैंसा माग्ने गरेका थिए।
सेजुवालले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका कर्मचारीबाट रकम उठाउने गरेको समाचार प्रकाशित भएपछि भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाका प्रमुख स्वकीय सचिव रमेशकुमार चन्दले कैलाली प्रहरीमा पैसा माग्न प्रयोग भएको मोवाइल नम्बरसहित ती व्यक्तिलाई पक्राउ गर्न भदौ १० गते जाहेरी दिएका थिए।
चन्दले प्रहरीमा सेजुवालले गरेको कुराकानीको अडियोसमेत पेस गरेका थिए। भौतिक पूर्वाधार मन्त्रालयको निरन्तरको ताकेतापछि सेजुवाललाई प्रहरीले नेपालगन्जको एक होटेलबाट पक्राउ गरेर धनगढी ल्याएको हो। जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान जारी रहेकाले अम्मरराजले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भए आफूसँग भएको आधार प्रमाणसहित प्रहरी कार्यालयमा जाहेरी दिन प्रहरीले आग्रह समेत गरेको छ।
सेजुवालले मन्त्री देउवाको प्रमुख सचिव रमेशकुमार चन्द हुँ भन्दै डोटी र डडेल्धुरका विभिन्न व्यक्तिबाट रकम असुल्न खोजेका थिए। सेजुवालले कम्तिमा दुई हजारदेखि बढीमा तीस हजारसम्म पठाउनु भन्दै विभिन्न व्यक्तिहरूलाई फोन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी विरुद्ध कर्णाली प्रदेश प्रहरीमा समेत ठगी गरेको उजुरी परेको कैलाली प्रहरीले जनाएको छ। उनले पैसा माग्न मोबाइल नम्बर ९८५११७३३१८ प्रयोग गर्दै आएका थिए।