सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सर्पले डसेर दुई सय बढीको मृत्यु, कहाँकहाँ छन् उपचार केन्द्र?

२०८० साउन २८, ०३:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा यो साता मात्र सर्पले डसेर तीन जनाको मृत्यु भइसकेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाकी २१ वर्षीया शितल रानाको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको पनि सर्पले डसेर मृत्यु भएको छ। महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले डसेको र बुधबार बिहान उनको मृत्यु भएको हो। गोठमा सुतेकी अनितालाई मंगलबार मध्यराति सर्पले टोकेको थियो।

यस्तै शौचालय जान निस्किएका कैलालीको कैलारी गाँउपालिका–५ जमनीपुरका ६१ वर्षीय मानबहादुर चौधरीको पनि सर्पले डसेर ज्यान गएको छ। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिममा यसैगरी सर्पले डसेर पाँच वर्षको अवधिमा दुई सय चार जनाको मृत्यु भइसकेको छ। सर्पदंशका कारण मृत्यु हुनेहरूमा अधिकांश महिला र बालबालिकाहरू छन्।
सर्पको बिगबिगी
सर्पको बिगबिगी बढ्दै गएपछि सर्पदंशबाट ज्यान गुमाउँनेको संख्या पनि प्रदेशभित्र बढ्दै गएको छ। सर्पको टोकाइबाट हुने मृत्युका सबै घटना भने प्रहरीसँग पुग्ने गरेका छैनन्। यस कारण पनि वास्तविक मृत्युको संख्या अझै धेरै हुन सक्ने अनुमान छ। सर्पले टोकेको एक घन्टाभित्र उपचार सुरु गर्नुपर्ने भए पनि अस्पतालसम्म नपुग्दा ज्यान गुमाउनेको संख्या वर्षेनि बढ्दै गएको हो। 

विभिन्न अध्ययन र सर्वेक्षणले सुदूरपश्चिममा सर्पदंशको जोखिम उच्च रहेको देखाए पनि बर्सेनि सर्पको टोकाइबाट हुने प्रभावित र मृत्युको यकिन तथ्यांक भने उपलब्ध छैन। समयमा उपचार नपाउँदा यसरी अकालमै ज्यान गुमाउनेको संख्या वर्षेनि बढ्दै गएको छ।  विशेष गरी ग्रामीण भेगमा बसोवास गर्ने र विपन्न बढी प्रभावित भइरहेका छन। तराईका जिल्लामा सर्पदंशको उपचारमा जनचेतना नहुनुले झन् बढी प्रभावित भइरहेको छ।

सर्पले टोकेमा अस्पतालको साटो पहिले धामीझाँक्रीकोमा जाने र बिरामीको अवस्था गम्भीर भइसकेपछि मात्र अस्पताल लाने गरिएको छ। सर्पदंशको जोखिम गाउँमा हुने, तर अधिकांश उपचार केन्द्र सहरकेन्द्रित हुनुले समेत सर्पदंशबाट मृत्युदर उच्च देखिएको अधिकारीहरुले बताएका छन्।
सुदूरका १७ स्थानमा सर्पदंश उपचार केन्द्र
प्रहरीको तथ्यांकअनुसार सर्पको टोकाइबाट मृत्यु हुने दर सुदूरपश्चिममा वर्षेनि बढ्दो छ। सुदूरपश्चिममा पाँच वर्षको अवधिमा दुई सय चार जनाले सर्पदंशबाट ज्यान गुमाएका छन्। सुदूरपश्चिममा हाल १७ स्थानमा सर्पदंश उपचार केन्द्र छन्। कञ्चनपुरमा ८, कैलालीमा चार, बाजुरा, अछाम र डडेल्धुरामा एक/एक र डोटीमा दुई गरी १७ वटा सर्पदंशको उपचार केन्द्र छन्।

विशेषगरी, ग्रामीण क्षेत्रमा सर्पको टोकाइबाट बढी प्रभावित हुने र स्वास्थ्य संस्था नजिक नहुँदा समयमै उपचारबाट वञ्चित रहने भएकाले समेत मृत्युदर उच्च देखिएको हो। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार करिब ६ सय प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ।
गोमन दिउँसो, करेत राति सक्रिय
नेपालमा ८४ प्रजातिका सर्प पाइन्छन्। तीमध्ये करिब २१ प्रजातिहरू विषालु छन्। विषालुमध्येमा पनि गोमन, करेत, रूसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु प्रजातिभित्र पर्छ। तराई क्षेत्रमा सबैभन्दा बढी गोमन र करेतको डसाइ धेरै नै हुने गर्छ। सरिसृप विज्ञ प्राध्यापक करनबहादुर शाहका अनुसार करेत सर्प अध्याँरोमा बढी सक्रिय हुन्छ।

यस्तै गोमन सर्प बिहान र दिउँसो उज्यालो भएको बेला बढी सक्रिय हुने गर्छ। प्रायः गोमन सर्पको डसाइ उज्यालोमा हुने र करेतको अँध्यारोमा हुने शाह बताउँछन्। कहिलेकाहीँ करेत लुकेको ठाउँमा जाँदा दिउँसै पनि डस्नसक्ने शाहले बताए। घाम चर्किएको बेला भने सर्पहरू बढी ननिस्कने उनले बताए।

कमेन्ट लोड गर्नुस