सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाका १० परिवार खोलाको दूषित पानी पिउन बाध्य

२०८० असार ११, ०९:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका १० परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन्। बस्तीमा नल्का गाड्न नसक्दा खत्रीटोलका वासिन्दा गौंडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन्। खोला छेउ सानो खाल्डो खनेर टोलका वासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन्।

वर्षौं पहिले दातृ निकायले टोलमा गाडेको नल्काबाट पानी आउन छाडेपछि खोलाको पानी पिउँदै आएको स्थानीय भक्तबहादुर खत्रीले बताए। ‘टोलमा बसोबास गर्ने सबै परिवारको आर्थिक अवस्था नाजुक छ,’ उनले भने, ‘मजदुरी गरेर चुलोमा आगो बल्ने गरेको छ, नल्का गाडने पैसा जुटाउन नसक्दा खोलाको पानी पिउनुपरेको छ, १५० फिटभन्दा तलसम्म नल्का गाड्नुपर्छ। त्यसका लागि १ लाखभन्दा बढी खर्च हुन्छ, नल्का गाड्ने आवश्यक रकमको जोहो मिलाउन सकेका छैनौं।’

विक्रम संवत् २०६५ सालदेखि खानेपानीका लागि दातृदेखि सम्बन्धित सरकारी निकायसम्म गुहारे पनि खानेपानीको समस्या समाधान हुन नसकेको उनले बताए। नयाँ संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको निर्वाचन हुन लाग्दा जनप्रतिनिधिले खानेपानीको समस्या समाधान गर्नेमा टोलका वासिन्दा ढुक्क थिए।

‘नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले चुनाव जितेपछि समस्या समाधान गर्ने निकै आश्वासन दिएकै हुन्,’ दलबहादुर खत्रीले भने, ‘वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुनेमा आशावादी थियौं, चुनाव सकियो, खानेपानीका लागि हेण्डपम्प गाड्नका लागि प्रस्तावसहित वडा कार्यालयदेखि नगरपालिकासम्म पटक–पटक पुग्यौं सुनुवाइ भएन।’

कमेन्ट लोड गर्नुस