सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबै मृगौला फेल भएपछि डोटीका ऐरको उपचारमा समस्या 

२०८० असार ४, १०:३७ खबर संवाददाता

धनगढीः डोटीको शिखर नगरपालिका वडा नम्बर-१ कपल्लेकी  ऐरीगाउँका उमेशसिंह ऐरका दुबै मृगौला खराब भएका छन्। बुवाको मृत्यु भएको एक वर्ष नपुग्दै ऐरका दुबै मृगौला खराब भएपछि परिवारमा बज्रपात भएको छ। २७ वर्षीय ऐरको दुवै मृगौला खराब हुँदा उपचार गर्नसमेत समस्या परेको छ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्यामा भएको परिवारले जनाएको छ। पेसाले गाडी चालक रहेका ऐरको आर्थिक स्थिति कमजोर रहेको छ। आफ्नो वुबाको मृत्यु भएको १० महिना नपुग्दै उनी एक्कासी यही जेठ १५ गतेका दिन बिरामी परेका थिए।

उनलाई अस्पतालमा लगेर चेकजाच गराउँदा दुईवटै मृगौला बिग्रेको देखियो। अहिले नवजीवन अस्पताल धनगढीमा डायलाइसिस गराइरहेका ऐरलाई चिकित्सकले मृगौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन्। तर, आर्थिक समस्याका कारण प्रत्यारोपणका लागि आवश्यक स्वास्थ्य परीक्षण गर्ने रकम नहुँदा ऐर समस्यामा परेका छन्।

डाक्टरको सल्लाहअनुसार जतिसक्दो चाँडो मृगौला प्रत्यारोपणको लागि काठमाडौँ जानुपर्ने भए पनि खर्चको समस्या रहेको ऐरले बताएका छन्। मृगौला दिनका लागि उनको श्रीमती तयार भए पनि आवश्यक चेकजाँच गर्न आफूसँग रकम नभएको ऐरले बताए।

घरको आर्थिक अवस्थाले नभ्याउने भएकाले ऐरका भाइ चिरञ्जीवी ऐरले आफन्त तथा सहयोगीहरुमा सहयोगका लागि आह्वान गरेका छन्। सहयोग गर्न चाहनेहरूले ९८१२६०५२६६ मा फोन सम्पर्क गर्न अनुरोध गरिएको छ। यस्तै, इसेवा नम्बर ९८११६१५९३६ अथवा चिरञ्जीवी ऐरको नबिल बैंकमा रहेको खाता नम्बर १३११००१७५०५८५३ मा सहयोग गर्न अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस