‘कैलालीको गेटामा फुलफङ्सनिङमा विश्वविद्यालय सञ्चालनमा आउँछ’
धनगढीः संघीय मन्त्रिपरिषद्ले २०७९ माघ २९ गते कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। संघीय सरकारको जेठ ५ गतेको नीति तथा कार्यक्रममा पनि गेटामा ६ सय शय्याको अस्पतालसहित स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गरिने भनिएको थियो।
तर जेठ १५ गतेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिम आन्दोलित भएको छ। आइतवार सुदूरपश्चिम आमहड्ताल गरिएकोमा सोमवार प्रदेश सभा घेराउ गरिएको थियो। सरकारले नीति तथा कार्यक्रम र मन्त्रिपरिषदको निर्णय विपरीत बजेट विनियोजन गरेको भन्दै प्रदेशमा आन्दोलन जारी छ। स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गरिएका बेला सरकारले भाषागत गल्ती भएको बताएको छ।
बजेटमा प्रतिष्ठान उल्लेख भएपछि प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरुलेसमेत विरोध गरेका बेला संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गल्ती भएको बताएका छन्। उनले भने, ‘कैलालीको गेटामा प्रतिष्ठान भएर, आयो भन्ने कुरामा धेरै ठुलो चाँसो र चिन्ता भयो। सुदूरपश्चिमको साथीहरुको। यो हाम्रो कुनै मनसाय होइन। जे नाम दिएपनि हुनुपर्छ। एक अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको छ। त्योलाई फुलफङ्सनिङ, एउटा विश्वविद्यालयको रुपमा अगाडि बढोस भन्ने हामी चाहान्छौ।’
कैलालीको गेटामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढीका भौतिक संरचना तयार गरेको छ। चिकित्सा शिक्षा अध्ययन र अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारिएका हुन्। तर, संघीय सरकारले मेडिकल कलेज, प्रतिष्ठान र विश्वविद्यालमध्ये कुनै एक सञ्चालन गर्न कानूनी बाटो पहिल्याएको छैन। सरकारले भने विश्वविद्यालय सञ्चालनको निर्णय गरिसकेको भए पनि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दुबैले बजेट माग गरेकाले बजेट भाषणमा प्रतिष्ठान उल्लेख भएको सरकारको दाबी छ। अर्थमन्त्री महतले भने, ‘स्वास्थ्य मन्त्रालयको पनि हाम्रो अन्तरगत चलोस, शिक्षा मन्त्रालयबाट पनि भन्यो। बजेटपनि दुबै तिरबाट आएछ। राम्रो भयो। बजेट निकै आवश्यक्ता पनि थियो।’
संघीय सरकारले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने दोहर्याोएको हो। आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र विश्वविद्यालय सञ्चालनका लागि एक अर्ब १५ करोड बजेट विनियोजनसमेत गरिएको छ। संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्ने भएको हो। मन्त्रालयले विश्वविद्यालय सञ्चालनका लागि ऐन तयार गर्दैछ। अर्थमन्त्री महतले नाममा मात्र प्रतिष्ठान भएको बताएका छन्। उनले भने, ‘कुरा एकै हो, तर विश्वविद्यालय नै हुनुपर्छ भन्ने भावना छ। त्यो भावनालाई नजरअन्दाज गर्न सकिदैन। ऐन पनि अगाडि बड्दैछ। त्यो ऐनमा विश्वविद्यालय भनेर नै आउछ। त्यही हिसाबले बजेट अगाडि बड्छ।’ सुदूरपश्चिम प्रदेशको भावनालाई बेवास्ता नगर्ने अर्थमन्त्री महतले बताएका छन्।
चिकित्सा शिक्षा अध्ययन र उपचार सेवाका लागि विश्वविद्यालय स्थापना हुनुपर्ने सुदूरपश्चिमेलीहरूको माग छ। गेटामा विश्वविद्यालय सञ्चालनमा आए, नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमले पाउने छ।