धनगढी डुबानको समस्या हल गर्न १२ खोलानालाको अतिक्रमण हटाइयो
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले गत वर्षको असार १ गतेबाट खोलानालामाथिको अतिक्रमण हटाउन सुरु गरेको थियो।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ तारानगरस्थित बालबिहानीबाट सुरु भएको अभियान बजार क्षेत्रका चार वडामा फैलिएको छ। खोलानालको अतिक्रमणका कारण धनगढी डुबान हुँदै आएको भन्दै खाली गर्ने अभियान सञ्चालन गरिएको हो। धनगढी उपमहानगरपालिकाको स्रोत साधनको प्रयोग गरेर बजार क्षेत्रका अतिक्रमणमा परेका खोलानाला अहिले पनि खाली हुँदै छन्।
धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले प्राकृतिक नालाको अतिक्रमण खाली गर्न काम जारी रहेको बताए। उनले धनगढीको वडा नम्बर २, ३ र ४ का प्राकृतिक खोलाहरुको अतिक्रमण खाली गरिएको बताए। धनगढी उपमहानगरपालिकाले वडा नम्बर २ को पुरानो दिनेश मेटल हुँदै रुवस होटल-सन्तोषीटोल भएर बग्ने नाला, रातोपुल हुँदै सुदूरपश्चिमाञ्चल पछाडि भएर बग्ने नाला, भन्सारको रश्मी मेडिकल हुँदै बग्ने नालाको अतिक्रमण खाली गरिएको छ।
सबै भन्दा बढी डुबान हुँदै आएको वडा नम्बर ३ का पाँच नालाको अतिक्रमण खाली गराइएको छ। डिलासैनी टोल–सुधारगृह नाला, फाप्ला खानेपानीदेखि राजधाट जानेपुल, मोहनापुल अत्तरिया ६ लेन सडकदेखि जनता विद्यालयसम्मको नाला, राधा विकको घर नजिकको नाला, भाटभटेनी पछाडिदेखि मोहनापुल अत्तरिया ६ लेन सडकसम्मको नालाको अतिक्रमण खाली गराइएको छ। धनगढीको बजार क्षेत्रका अतिक्रमणमा परेका खोला, नाला, ताल तथा सार्वजनिक जग्गा खाली गर्न उपमहानगरपालिकाले स्काभेटर प्रयोग गर्दै आएको हो।
धनगढीको वडा नम्बर ४ का शिवपुरपछडिको नाला, ठाकुर एग्रोदेखि भगवती टोलको नाला, मोहनापुलदेखि पूर्व एकता टोलको नाला, नेपाली सेनाको बोराडाँडी ब्यारेक भित्र हुँदै शिवपुरी धामको नालाको अतिक्रमण खाली गराइएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर भट्टले बर्सादको पानी नाला हुँदै गन्तव्यमा जाने दाबी गरेका छन्। उनले नालामा रहेका ठुला भौतिक संरचना अझै हटाउन बाँकि रहेको बताए। उनले भने, ‘ठुला नाला पनि खोल्छौँ। नियमित खोल्ने कार्यक्रम छ। बर्खालाई लक्षित गरेर काम हुँदैछ। अहिले साना कुला नालाहरु खोल्दैछौँ। पहिलो प्राथामिकतामा बस्तीका नालाहरु छन्।’
खोलानालामाथि भएको अतिक्रमण नहटाउँदासम्म धनगढी डुबानको समस्या समाधान नहुने भएकाले अतिक्रमित क्षेत्र खाली गर्न थालिएको हो। मोहनापुल–अत्तरिया ६ लेन सडक क्षेत्रको डुबान समस्या समाधानका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले बजेट विनियोजन गरेको छ। इन्जिनियर भट्टले संघीय सरकारले डेढ अर्बको विस्तृत आयोजना प्रतिवेदन तयार गरिएकोमा १७ करोड विनियोजन गरेको बताए।
माहेनापुल–अत्तरिया ६ लेन सडक क्षेत्रको पानी निकासका लागि सहरी विकासले आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने भएको हो। धनगढी बजार क्षेत्रका अन्य खोलाको अतिक्रमण खाली र व्यवस्थीत ढल निकासका लागि एसियाली विकास बैंकले लगानी गर्ने भएको छ।