धनगढीमा मुख्य सडक निर्माणका लागि सम्झौता भयो काम सुरु भएन
धनगढीः धनगढीको कैलालीपुलदेखि हुलाकी राजमार्गसम्मको सडक निर्माणका लागि वैशाख २७ गते सम्झौता भयो। २०८० वैशाख २७ गते २४ महिनाभित्र सडक निर्माणको काम पूरा गर्ने सम्झौता भए पनि काम अझै सुरु भएको छैन। २०८२ वैशाख २६ गतेभित्र धनगढीको मुख्य सडक निर्माण पूरा गर्ने गरी ठेक्का पाएको केएस कन्स्ट्रक्सन र पूर्वाधार कार्यालय कैलालीले संयुक्त सर्भेको काम गरिरहेको छ।
अहिले संयुक्त सर्भको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार कार्यालय कैलालीका निमिक्त प्रमुख रामचन्द्र खत्रीले संयुक्त सर्भेको काम अन्तिम चरणमा रहेको बताए। उनले भने, ‘उहाँहरु र हाम्रो टिम मिलेर सर्भे गर्ने हो। हामीले फिल्डबाट आएको डाटालाई भेरिफाइ गर्ने हो। भेरिफाई गर्ने काम सकिएको छ। डिजाइन फाइनल हुँदैछ। आज–भोलिसम्म फाइनल हुन्छ। अनि काम सुरु हुन्छ।’
पूर्वाधार कार्यालय कैलाली र केएस कन्स्ट्रक्सनबिच ५१ करोड ६९ लाखमा सडक निर्माणको ठेक्का सम्झौता भएको हो। निर्माण कम्पनीले सुरुवाती ५ प्रतिशत भुक्तानी पाउनुपर्ने हो। तर सुदूरपश्चिम सरकारले भुक्तानी दिएको छैन। काम सुरु भएपछि पाउनुपर्ने थप ५ प्रतिशत भुक्तानीका लागि पनि बजेटको व्यवस्था गरिएको छैन। यसका लागि प्रदेशको आर्थिक मामिला मन्त्रालयले थप कागजपत्र माग गरेको छ।
मन्त्रालयले माग गरेअनुसारका कागजपत्र पेश गरिसकेको पूर्वाधार कार्यालयको दाबी छ। पूर्वाधार कार्यालय कैलालीका निमित्त प्रमुख खत्रीले भने, ‘हो पैसा छैन। अर्थ मन्त्रालयमा फाइल पुगेको छ। उहाँहरुले केही डाटा माग्नु भएको छ। हामी दिन्छौ।’ उनले पैसाले काम नरोकिने बताए। धनगढी उपमहानगरपालिकाले मुख्य सडक चौडाईका लागि १५ मिटर दाँया र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो।
उपमहानगरपालिकाको आग्रहमा दुई दशमलव तीन सय मिटर क्षेत्रभित्र रहेका चार सय २८ भौतिक संरचना खाली भएका छन्। उक्त क्षेत्रमा फुटपाथ, साइकल लेन, खानेपानी, विद्युत लाइन विस्तारसहितको स्तरीय कालोपत्र सडक निर्माण हुने भएको हो। पूर्वाधार कार्यालय कैलालीका निमिक्त प्रमुख खत्रीले पानी निकासको बारेमा फेरि अध्ययन गरेको बताए।
उनले भने, ‘मिडियन छ। हामीले ३० मिटर ल्याएका छौ। २७ मिटरको सडक हुन्छ। तीन÷तीन मिटरको फुटपाथ हुन्छ। कालोपत्र ९ दशमल २० मिटर छ। साइकल लेन पनि त्यहीमा हुनेछ। दुबैतिर साइकल लेन पनि निर्माण हुनेछन्।’ धनगढीमा ट्राफिक जामको समस्या समाधानका लागि उपमहानगरले फराकिलो र स्तरीय सडक निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरेको थियो।
धनगढी चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्र हुँदैछ। कैलाली पुलदेखि हुलाकी राजमागर्गसम्म प्रदेश सरकारले स्तरीय सडक निर्माण गर्नेछ। हुलाकी राजमार्ग आयोजनाले पनि धनगढीमा तीन किलोमिटर सडक चार लेनमा विस्तार गर्दैछ। पूर्वाधार कार्यालय कैलालीका प्रमुख खत्रीका अनुसार सर्भिस लेनमा खानेपानीको पाइप विस्तार गरिनेछ।
विद्युत र खानेपानीका पाइप स्तान्तरणको विषय पनि ठेक्कामा समावेश गरिएको छ। तर नयाँ विद्युतका पोल र खानेपानीका नयाँ पाइपका लागि बजेटको व्यवस्था गरिएको छैन्। खानेपानी संस्थान र विद्युत प्राधिकरणसँगको समन्वयमा काम गरिने प्रदेश सरकारले जनाएको छ।