सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चोरहरुको बिगबिगी, बाख्रा चोरेपछि खोर रित्तै

२०८० जेठ २१, ०६:४३ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानरपालिका वडा नमबर ६ जालीगाँउ पिपलचोक बस्ने गंगाराम चौधरीको घर आँगनमा रहेको दुईवटा ट्याक्टरको केही दिन अगाडि ब्याट्री चोरी भयो। सोही दिन जाली बसन्त टोलका उमेश चौधरीको घर आँगनमा रोकी राखेको ट्याक्टरको पनि ब्याट्री चोरी भयो। जेठ १२ गते पिपल चोक टोलका रामप्रसाद चौधरीको खेतबाट बिउमा पानी हाल्नको लागि जोडेर राखेको २ हर्ष पावरको मोटर चोरी भयो।

यस्तै, जेठ १८ गते जालीको नवदुर्गा टोलका श्याम थापाको खोरमा बाँधेर राखेको करिव ३० किलोग्रामको खसी चोरी भयो। शनिवार राति जालीकै सितरामी चौधरीको गोठबाट ३ वटा बाख्रा चोरी हुँदा उनको गोठ रित्तो भएको छ। शनिवार रातिको समयमा गोठबाट तीन वटा बाख्रा चोरी भएको सितरामीका छोरा प्रमोद चौधरीले बताए।

‘चोरी हुन पहिले पनि हुन्थ्यो। बिचमा रोकिएको थियो। फेरि दिनहुँ चोरी हुन थालेको छ,’ उनले भने, ‘हाम्रो खोरमा तीन वटा बाख्रा थिए। हिजो राति तीनै चोरी भए।’ चोरीको विषयमा रामप्रसाद चौधरीले सामुदायिक प्रहरी सेवा केन्द्र सहनपुरमा मैखिक तथा लिखित जानकारी गराएका छन्। चोरी भएको घटनाको प्रहरीले निरीक्षण गरेको र जिल्ला प्रहरी प्रमुखलाई समेत जानकारी गराएको उनले बताएका छन्।

खेती किसानीको समयमा दैनिक बिउमा पानी हाल्ने समयमा मोटर चोरी हुँदा बिउमा पानी हाल्न समस्या भएको कृषकको गुनासो छ। यस्तै, गोठमा पालिएका खसी र बाख्रा चोरी हुँदा गरिव किसानको बिचल्ली हुन थालेको जालीका अर्का किसान श्याम थापाले बताए। ‘मेरो गोठमा करिव २५ हजार मूल्यको खसी थियो। चोरहरूले रातिको समयमा चोरेर लगे,’ उनले भने, ‘गाउँमा खसी र बाख्रा तथा मोटर र ट्याक्टरको ब्याट्री चोरी हुने घटना दैनिक हुन थालेका छन्।’

खेतीपाती गर्ने समुदायमा पानी तान्ने मोटर खेत तथा आँगनमा रहेको मौका छोपेर चोरहरूले चोरी गर्न थालेका हुन्। रोपाईको मुखमा मोटर चोरी हुन थालेपछि स्थानीय किसान चिन्तित भएका छन्। धनगढी बजार क्षेत्रसँग जोडिएको ग्रामीण क्षेत्रमा रातिको समयमा प्रहरी गस्ती नहुँदा चोरीका घटना दैनिक हुन थालेको सर्वसाधारको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भने चोरीका घटना हुने क्षेत्रमा प्रहरी गस्ति बढाइने योजना रहेको जनाएको छ। ग्रामीण क्षेत्रमा प्रहरी गस्ति बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। ‘जालीमा चोरी भएको घटनाको निरीक्षण भएको छ। हामीले रातिको समयमा गस्ति पनि गर्ने गरेका छौँ,’ उनले भने, ’अहिले नोटिस भएको क्षेत्रमा पनि प्रहरी गस्ति नियमित गराइने छ।’

बर्खायामको मुखमै पानी तान्ने मोटर चोरी हुँदा खेती किसानी गर्न समस्या हुने भन्दै किसान चिन्तित भएका छन्। यस्तै आयआर्जनको विकल्पमा पालिएका खसी–बाख्रासमेत चोरी हुन थालेपछि धनगढी आसपासका किसान चिन्तित भएका छन्। गाउँ टोलमा चोरहरूको बिगबिगी बढे पनि नियन्त्रणका लागि स्थानीय सरकारको समेत ध्यान जान नसकेको भन्दै गुनासो गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस