सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन विषयमा मन्त्रालय नै बाझियो

२०८० जेठ २०, ०१:२० कमल सावद

धनगढीः संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्ने भनिएको छ। तर अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्षको बजेटमा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने विषय समावेश गरिएको छ।

स्वास्थ्य विश्वविद्यालय सञ्चालनको चरणमा रहेका बेला प्रतिष्ठानको विषय बजेटमा समावेश भएपछि कैलालीमा तनाब सुरु भएको छ। विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले गेटामा २०५६ सालबाट मेडिकल कलेजको विषय सुरु भएको बताए। उनले गेटामा विश्वविद्यालय स्थापना गर्न पहिलाबाट नै आन्दोलन थालिएको बताए। उनले भने, ‘मोडालिटीको बारेमा बिवाद छैन। मोटालिटिसहितको विश्व विद्यालय चाहिएको हो। तर बजेटमा प्रतिष्ठान राखिएको छ।

६ सय शैयाको अस्पताल एक सय शैयामा झारिएको छ। हामी बिरोधमा छौ।’
शिक्षा, विज्ञान तथा प्रविधिधि मन्त्रालयले गेटामा अस्पताल र स्वास्थ्य शिक्षा अध्यापनका लागि संरचनाहरु निर्माण गर्दैछ। गेटामा शिक्षा मन्त्रालयले झण्डै ६ अर्ब बजेट खर्च गरिसकेको छ। ५१ वटा भौतिक संरचना संघीय शिक्षा मन्त्रालयले निर्माण गर्दैछ। ३० वटा भौतिक संरचनाको काम पूरा भएको छ। अबको एक महिनाभित्र ३९ वटा संरचनाको काम सकिनेछ। थप १२ वटा संरचनाको काम आगामी चैतसम्म पूरा हुनेछ। तर संघीय सरकारको बजेट भाषणमा पूर्वाधार विकास समिति खारिज गर्ने उल्लेख भएपछि प्रदेशवासी थप सशङ्कित भएका हुन्। 

संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आन्दोलनका कार्यक्रमहरु कानूनी दायरामा रहेर गर्न आग्रह गरे। उनले मन्त्रालयहरुको बिवादका कारण समस्या देखिएको बताए। ‘माथिल्लो तहमा छलफल गर्न आवश्वक छ। शिक्षा र स्वास्थ्य मन्त्रीको तहमा छलफल हुन आवश्यक छ।’

विश्वविद्यालय शिक्षा मन्त्रालय मातहत सञ्चालन हुने छ भने प्रतिष्ठान स्वास्थ्य मन्त्रालय माहतको हुनेछ। गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघीय सरकारका मन्त्रालयहरुको खिचातानीको शिकार भएको छ। मन्त्रालयहरुले खिचातानी गरेपछि गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन हुनेमा आशंका गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले पूर्ण बजेट तथा कार्यक्रम नआएकाले यसै भन्न नसकिने बताए।

शिक्षा मन्त्रालयबाट पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि बजेट परेको हुन सक्ने उनको तर्क छ। स्वास्थ्य मन्त्रालय मातहत रहेका प्रतिष्ठानहरुको अवस्था राम्रो नभएकाले शिक्षा मन्त्रालयले चिकित्सा विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग सुदूरपश्चिमको छ। विश्वविद्यालय सञ्चालनका लागि कानून निर्माणको प्रक्रियासमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थालेको छ।

सरकारले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको निर्णय गरेकोमा पुनः प्रतिष्ठान सञ्चालन गर्ने भनेर बजेटमा सभावेश गरिएपछि तनाब सुरु भएको छ। संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नाम बजेट भाषणमा समावेश नभएपछि मन्त्रालयका अधिकारीहरुसमेत दुविधामा छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस