सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारमा बुवाको मृत्युपछि बडू परिवारको धनगढीमा बिचल्ली

२०८० जेठ १९, ०७:१६ खबर संवाददाता

धनगढीः दार्चुलाको व्यास गाउँपालिका धौलाकोटका १८ वर्षिय प्रेम बडूका बुवा चार वर्ष अगाडि वैदेशिक रोजगारीमा गए। चार वर्ष अगाडि दुबई गएका बुवा कृष्णानन्दको मृत्युपछि उनको परिवार आर्थिक संकटमा छ। 

कृष्णानन्दको गत कात्तिक ६ गते रहस्यमय मृत्यु भएको हो। वैदेशिक रोजगारमा रहेका बुवाको मृत्युपछि परिवारको धनगढीमा बिचल्ली भएको प्रेमले बताए। एसईईको परिक्षा दिइका १८ वर्षीय प्रेमले स्थानीय तह, सुदूरपश्चिम प्रदेश सरकार तथा केन्द्रीय नेताहरुसँग पनि आर्थिक सहयोग मागेका छन्। तर उनले आश्वासन मात्र पाएका छन्। 

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश प्रहरी प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसम्म पुगिसकेको बताए। विभिन्न दलका कार्यालय र दलका नेताहरूलाई समेत उनले भेट गरेका छन्।

आर्थिक सहयोग र विदेशमा रहेका बुवाको मृत्युको कारण तथा कम्पनीले दिनुर्ने रकम पाउनुपर्ने उनको माग छ। तर उनले कतैबाट सहयोग पाएका छैनन्। दुतावासले पनि सहयोग नगरेको प्रेमले बताए। 

नेपालगञ्जका गणेश केसीसँग प्रेमका बुबाले पाँच लाख रुपैयाँ लिन बाँकी छ। तर गणेश सम्पर्कमा नभएको उनले सुनाए। बुवाको मृत्युपछि आर्थिक संकटमा रहेको उनले बताए। युएईमा बडूको मुत्युपछि एक छाक टार्नका लागि पनि परिवारलाई मुस्किल परेको हो। प्रेम आमा र बैनीसँग धनगढीमा कोठा भाडामा लिएर बस्दै आएका छन।
 

कमेन्ट लोड गर्नुस