सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीको भ्रमण स्वीकृति, सुदूरपश्चिमको लेखा समिति भारतको नैनी तालमा

२०८२ असार ५, ०६:१३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको लेखा समिति भारतको नैनी ताल भ्रमणमा पुगेको छ।

सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीबाट लुम्बिनी प्रदेश सभाको अनुभवन सिक्न स्वीकृति लिएका उनीहरू भारतको नैनी ताल पुगेका हुन्।

लुम्बिनी प्रदेशको भ्रमण भन्दै सभाको सार्वजनिक लेखा समितिका सदस्यहरूले भारतको नैनी ताल भ्रमणमा पुगेको विषय सार्वजनिक भएको हो। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक अनियमितताको विषयमा छानबिन तथा सरकारलाई निर्देशन दिने अधिकार भएको लेखा समितिका पदाधिकारीहरूले एक ठाउँको भ्रमण स्वीकृत गरेर भारत पुगेका हुन्। उनीहरूले भारत भ्रमणका लागि कुनै औपचारिक स्वीकृत नलिएको पाइएको छ। प्रदेश सभा सचिवालयले लेखा समितिका सदस्यहरूले लुम्बिनी प्रदेश सभाको अनुभवन र उक्त क्षेत्रका पर्यटकीय क्षेत्रहरूको भ्रमणका लागि स्वीकृत लिएको बताएको छ। तर, भारतको नैनी ताल भ्रमणका विषयमा जानकारी नरहेको सचिवालयले बताएको छ। सचिवालयले नैनी ताल भारतमा पर्ने भएकाले उच्चस्तरबाट स्वीकृति आवश्यक पर्ने बताएको छ।

सुदूरपश्चिमको सार्वजनिक लेखा समितिले असार ३ गते लुम्बिनी प्रदेशको भ्रमण गर्ने निर्णय गरेको थियो। तर, समितिका सभापति अक्कलबहादुर रावलको नेतृत्वमा सदस्यहरू सन्तोष शर्मा थापा, बेल बहादुर राना, मधु भारती, मानबहादुर धामी, गीतादेवी माल र विक्रम सिंह धामी नैनी ताल पुगेका छन्। भ्रमणमा समितिका सचिव बलदेव कपाडी पनि सहभागी छन्। तर, सुदूरपश्चिम प्रदेश सभाका सचिव देव बहादुर बोगटीले सार्वजनिक लेखा समितिको टोली लुम्बिनी भ्रमणमा गएको बताए।

प्रदेश सभा सचिव बोगटीले प्रदेश सभाका सदस्यहरू भारत भ्रमणमा जाँदा निश्चित प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन्। भारतको नैनी ताल भ्रमणमा रहेका सार्वजनिक लेखा समितिका सभापति तथा सदस्यहरूसँग सम्पर्क हुन सकेको छैन। उनीहरूका मोबाइल फोनहरू बन्द छन्। उनीहरू प्रदेश सभाको स्रोतले भारतको नैनी ताल भ्रमणमा गएका हुन्। उनीहरूले भारतको नैनी तालको तस्बिरहरू सामाजिक सञ्जालमा राखेका छन्।

प्रदेश सरकारको आर्थिक अनियमितको अनुगमन, निगरानी तथा छानबिन गर्ने र सरकारलाई निर्देशन दिने महत्वपूर्ण जिम्मेवारी रहेको सार्वजनिक लेखा समिति नै गैरकानुनी प्रक्रियाबाट भारतको नैनी ताल भ्रमणमा गएको हो।

 

कमेन्ट लोड गर्नुस