सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको एक स्वास्थ्य केन्द्रका कर्मचारी किर्ते हाजिर गरेर २ वर्षदेखि तलब बुझ्दै

२०८० जेठ १८, १०:५० खबर संवाददाता

कल्पना उपाध्याय, बझाङ: बझाङको एक स्वास्थ्य केन्द्रका कर्मचारीले काम नगरेर तलब बुझेको खुलेको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीले काम नगरेर पनि तलब बुझेका हुन्। 

स्थानीयले कार्यालय समयमा स्वास्थ्य केन्द्रमा कर्मचारी नहुने गरेको गुनासो गरेका बेला कर्मचारीले किर्ते हाजिर गरेर तलब बुझ्दै आएको पाइएको छ। स्वास्थ्य केन्द्रका अहेव उमेश कठायतले काम छोडेको दुई वर्ष भएको छ। तर उनले तलब सुविधा लिदै आएका हुन। उनले स्वास्थ्य केन्द्र घरबाट टाढा रहेको, शौचालय, खानेपानीको व्यवस्था नभएको र तलबको समेत राम्रो सुविधा नभएकाले काममा जान छोडेको बताए। आफ्नै मेडिकल चलाउदै आएका कठायतले स्वास्थ्य केन्द्रमा काम गर्न छोडेको दुई वर्ष बितेपनि गाउँपालिकाले नियमित तलब दिने गरेको हो। 

स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रयागराज जोशीले अहेव कठायतले किर्ते हाजिर गरेर तलब लिने गरेको बताएका छन्। उनले यो विषयमा गाउँपालिकामा पटक पटक कुरा उठाएको बताए। तर आफ्नो कुरालाई बेवास्ता गरिएको गुनासो उनले गरे। उनले भने ‘गाउँपालिकाका अध्यक्ष अक्कल धामी हुँदा देखिनै नयाँ कर्मचारी नियुक्त गर्न आग्रह गरे, अहेव कठायत जनप्रतिनिधिको आफन्त पर्ने भएकाले नै अहिलेसम्म मेरो कुरा व्यवास्था गरीयो। अब पनि यस्तै अन्याय हुन्छ भने कानूनी प्रक्रियामा जाने सोचमा छु।’

यता गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले सर्वपक्षिय बैठकले अहेव कठायतलाई तलब नदिने निर्णय भएको बताए। अध्यक्ष चलाउनेले दुई वर्षसम्म मौका दिएको भएपनि पछि तलब नदिने निर्णय गरिएको बताए। कठायतले मनोमानी गरेकाले तलब नदिने निर्णय भएको दाबी उनको छ। 

२०७३ सालमा स्थापना भएको काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रको नयाँ भवन प्रदेश सरकारको २१ लाख र संघ सरकारको ३९ लाख गरेर ६० लाखको लागतमा निर्माण भएको हो।  स्वास्थ्य केन्द्रमा एक अनमी, एक अहेव र एक कार्यलय सहयोगी गरेर तीन जना कर्मचारी थिए। अहेव श कठायतले दुई वर्षदेखि नीजि मेडिकल सञ्चालन गर्दै आएका छन्। अनमी भूमिका सिहँपनि स्वास्थ्य केन्द्रमा कम मात्र हुने गुनासो स्थानीयको छ। उनी दिउँसो नै स्वास्थ्य केन्द्र बन्द गरेर फर्किने गरेको स्थानीयले बताएका छन्। सिहँले एक्लै स्वास्थ्य केन्द्र धान्न मुस्किल भएको बताइन्। स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समित अध्यक्षकी बुहारी समेत रहेकी कार्यलय सहयोगी विष्ना जोशी पनि फुर्सदमा कार्यलय खोल्ने गर्छिन। स्वास्थ्य केन्द्र नियमित किन खोल्नुहुन्न ? भन्ने प्रश्नमा उनले तपाइलाई किन चासो ? भनेर उल्टै प्रश्न गरेकी छिन्। 

विकट काप्रिगाउँमा ४५ जोशी परिवारको बसोबास रहेको छ। विकासको पूर्वाधारको नाममै गाउँमा एक स्वास्थ्यचौकी रहेको र त्यहिँ पनि नियमित नखुल्दा सिटामोल पनि पाउन मुस्किल रहेको स्थानियको गुनासो छ। ‘हामीले सामान्य उपचारको लागि पनि दुई घण्टा पैदल हिडेर बगडगाउँको मटेला स्वास्थ्यचौकी पुग्नुपर्छ। गाउँको स्वास्थ्यचौकी कहिल्यै खोल्दैनन्,’ स्थानीय बिन्दु जोशीले भनिन। उनले थपिन, ‘मटेला स्वास्थ्य चौकीमा पनि काप्रीगाउँ घर भनेपछि ओैषधी दिन मान्दैनन।, तिमिहरुको गाउँमा किन माग्दैनौ भनेर थर्काउने गर्छन।’ गाउँमै स्वास्थ्यचौकी स्थापना भएको आठ वर्ष भएपनि आफुहरु आधारभूत स्वास्थ्यसेवाबाट बञ्चित हुनुपरेको स्थानियको गुनासो छ।

सरकारले २०७५ सालमा निशुल्क आधारभूत स्वास्थ्य सेवा पाँच वर्षभित्र सबै नेपालीको पहुँचमा पु¥याउने लक्ष्य राखेको थियो। आर्थिक वर्ष २०७९/८० सम्म सबै नेपालीले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दीर्घकालीन योजनामा पूरा हुन सकेको छैन। अझैपनि बझाङका दुर्गम क्षेत्रका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित  छन्। 

कमेन्ट लोड गर्नुस