सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहोरमैला र फोहोर पानी प्रशोधन केन्द्रको निर्माण नै संकटमा

धनगढीमा फोहोरमैला प्रशोधन केन्द्रका लागि प्रस्तावित जग्गा
धनगढीमा फोहोरमैला प्रशोधन केन्द्रका लागि प्रस्तावित जग्गा
२०७५ चैत्र ३०, ०७:२३ नवराज पनेरु

क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत धनगढीमा फोहोरमैला र फोहोर पानी प्रशोधन केन्द्रको निर्माण नै हुनेमा झनै आशंका बढेको छ। एसियाली विकास बैंकले फोहोरमैला प्रशोधन केन्द्र निर्माणलाई पहिलो सर्तबाट हटाएर सडकको काम अगाडी बढाउन दिएपनि फोहोरमैला र फोहोर पानी प्रशोधन केन्द्रको निर्माण हुनेमा भने झनै आशंका बढेको हो। आधुनिक र सुविधा सम्पन्न शहरको रुपमा विकास गर्ने लक्ष्य लिएर एसीयाली विकास बैंकको ऋण लगानीमा धनगढीमा सुरु भएको क्षेत्रीय सहरी विकास आयोजना सफलतापुर्वक सम्पन्न भए उप–महानगरको कायापलट नै हुने विश्वास गरिएको थियो। आयोजना अन्तरगत ५ बर्षमा धनगढी उप–महानगरमा मात्रै झण्डै ३ अर्व लगानी गरिने छ। तर अहिले सम्म लगानीको वातावरण नै तयार नभएपछि आएको बजेट पनि सदुपयोग हुनेमा आशंका बढ्न थालेको हो। आयोजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाईका प्रमुख सुरेश वाग्लेले अहिले सम्म फोहोरमैला र फोहोर पानी प्रशोधन केन्द्रका लागि उप–महानगरपालिकाले बजेट विनियोजन गर्न नसक्दा डिजायनको काम पनि अगाडी बढाउन नसकेको बताए। 

उनका अनुसार सुरुमा क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतका योजना छनौट गर्दा फोहरमैला व्यवस्थापन केन्द्रलाई पहिलो सर्तमा राखिएको थियो। तर धनगढी उप–महानगरपालिकाले आयोजना लागु भएको डेढ बर्ष सम्म पनि त्यस्का लागि जग्गा खोज्न सकेन र एसियाली विकास बैंकले सडकको काम अगाडी बढाउन सहमती दियो। जस्ले गर्दा अतिआवश्यक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने झनै आशंका बढेको छ। फोहरमैलाको वर्गीकरण गरि पुनःप्रयोग गर्ने र पुनः प्रयोग गर्न नमिल्ने फोहरलाई मात्रै फोहरमैला व्यवस्थापवन केन्द्रमा अन्तीम विर्सजनको रुपमा व्यवस्थापन गरीने योजना थियो। यस्ले धनगढीमा फोहरमैला व्यवस्थापनको समस्या समाधान हुने र नगरको सौन्दर्यता बढ्ने क्षेत्रीय सहरी विकास आयोजनाको परामर्शदाता कम्पनीका विडिएका फोहरमैला व्यवस्थापन विशेषज्ञ तथा ईन्जीनियर असोकरत्न तुलाधरको भनाई छ। 

क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत नै फोहर पानी व्यवस्थापनको योजना पनि छनौट गरीएको छ। धनगढी उप–महानगरपालीका वडा नम्वर १, २ ४, ५ र ८ मा सेफ्टी ट्रयाङकीको पानी र ठोस पदार्थलाई प्रशोधन गरेर ठोस पदार्थलाई मल र पानीलाई नदिमा बगाउने योजना रहेको छ। सेफ्टी ट्याङकीको ठोस पदार्थलाई विभीन्न ट्याङकरमा राखेर प्रशोधन गरेर मल बनाईने छ भने सेफ्टी ट्याङकीको फोहर पानी प्रसोधन गरेर नदिमा बगाईने छ। तर त्यस्का लागि पनि उप–महानगरपालिकाले जग्गा खोज्न सकेको छैन्। फोहोरमैला व्यवस्थापन केन्द्र र फोहोर पानी प्रशोधन केन्द्र एउटै ठाउँमा निर्माण गर्नुपर्ने हो। धनगढी उप–महानगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसक्दा झण्डै ९० करोडको फोहोरमैला व्यवस्थापन केन्द्र र ३० करोडको फोहोर पानी प्रशोधन केन्द्र बन्ने योजना रहेपनि जग्गा व्यवस्थापन नहुँदा समस्या भएको आयोजनाका सुचना अधिकारी श्यामचन्द्र बुढाथोकीले बताए। 

अहिले धनगढी नगर क्षेत्र सामान्य बर्षामा पनि डुवान हुनेगर्छ। बर्खाका बेला मुख्य सडकहरु नै पोखरी बन्ने गरेका छन्। तर क्षेत्रीय सहरी विकास आयोजनाले भने सडक र ढल निकासका लागी नाली निर्माण गर्दा अहिले सम्मको ठुलो बाढीको आकलन गरेर बनाउने योजना गरेको थियो। सडकको दुवैतर्फ नाला, फुटपाथ, सोलार बत्ती र खानेपानीको पाइप लगाउने योजना थियो। फराकिलो सडक छेउछाउमा ‘ग्रिन बेल्ट’ छुट्याएर हरियालीका लागी पनि ठाँउ छुट्याईने योजना राखिएको थियो। जस्ले दैनीक रुपमा भईरहेका दुर्घटना न्युनीकरण हुनेछन् भने ट्राफीक जामको समस्या पनि निराकरण हुने अपेक्षा गरीएको थियो। तर धनगढी उप–महानगरपालिकाले सो सुविधाको सडक बनाउनका लागि अहिले सम्म सडक क्षेत्र नै खाली गर्न सकेको छैन्। ४२ किलोमिटरमा १० किलोमिटर मात्रै बनाउने निर्णय भएको छ तर चौडाई घटार्ईको छ। 

क्षेत्रीय सहरी विकास आयोजनाले नै धनगढीको २० बर्षीय गुरुयोजना पनि बनाउने छ। त्यस्का लागी पनि सहरी योजना विदको टिमले काम गरिरहेको छ। अहिले शहरीकरण भईरहेको अवस्था, भएको शहरीकरणको व्यवस्थापन, नयाँ शहर बसाउन योग्य ठाँउहरुको पहिचानसंगै समग्र नगरको २० बर्षीय गुरुयोजना पनि तयार हुनेछ। शहरको जोखीमका बारेमा पनि अध्ययन गर्दै योजना बनाईने परामर्षदता कम्पनीले जनाएको छ। तर आयोजना अन्तरगत रहेका मुख्य योजना सडक, फोहोरमैला व्यवस्थापन केन्द्र र फोहोर पानी प्रशोधन केन्द्र भने निर्माण हुने आशंका बढ्दै गएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस