सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजबाट अदालतमा बयान सुरु हुने

२०८० जेठ १२, ०७:३१ खबर संवाददाता

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो।

गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखसमेत रहेका सह न्यायाधिवक्ता नेउपानेका अनुसार शुक्रवार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ। त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ।
 

कमेन्ट लोड गर्नुस