‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

कैलालीः राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले शनिवार धनगढीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रियामा उनले देशका जनताले लडेर ल्याएको गणतन्त्र फालेर राजतन्त्र ल्याउन कसैले नसक्ने धारणा राखे।

अध्यक्ष केसीले गणतन्त्र पक्षधर पार्टीबीच मतभेद् र अन्तरविरोध भइरहे पनि लोकतन्त्र र गणतन्त्र जोगाउन एक ठाउँमा आउन जरुरी रहेकामा जोड दिए। उनले जनताको साथमा आन्दोलनका बलमा फालिएको पुरानो राजतन्त्रात्मक व्यवस्था पुनःल्याउने योजना आमनागरिकको नभएको धारणा राखे।

अध्यक्ष केसीले दलका नेताहरूमा भएका कमजोरी सुधार गर्दै देश र जनताका पक्षमा सबै एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पारे। गणतन्त्र स्थापनापश्चात् जनतामा देशको विकास, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सकारात्मक परिवर्तन महसुस हुँदै गएको जनाउँदै गणतन्त्रमा पनि दलहरूले जनचाहनाअनुसार काम गर्न नसके जनतामा निराशा उत्पन्न हुने बताए।
अध्यक्ष केसीले नेपालको शिक्षा प्रणाली सुधार नगर्ने हो भने देशका विश्वविद्यालयले विद्यार्थी पाउन मुस्किल हुने बताए। देशमा पढेलेखेका विद्यार्थी विदेश पलायन हुने क्रमलाई रोक्न वर्तमान शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए। उनले देशमा भ्रष्टाचार बढ्दै गएकाले त्यसलाई रोक्न सबै दल, नागरिक समाज र सरोकार भएकाबीच सहकार्य र समन्वय आवश्यक पर्ने धारणा राखे। सरकारले सहकारीको रकम अपचलन गर्नेलाई यथाशीघ्र कारबाही गर्नुपर्ने उ नको भनाइ छ।