सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरका मेयर ओझाको प्रमुख काम, ‘स्वास्थ्य चौकीबाट २४ सै घण्टा सेवा’

२०८० जेठ ११, ०७:१२ कमल सावद

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले शपथ खाएको बिहिवार एक वर्ष भयो। उनले एक वर्ष स्वास्थ्य क्षेत्रको सुधारका लागि खर्च गरेका छन्।

सुदूरपश्चिममै पहिलो पटक कृष्णपुर स्वास्थ्य चौकीबाट २४ सै घण्टा स्वास्थ्य सेवा सुरु भएको हो। नगर प्रमुख ओझाले स्वास्थ्य चौकीमा आकस्मिक सेवासहित २४ सै घण्टा स्वास्थ्य सेवा सुरु गरिएको बताए। उनले भने, ‘कृष्णपुर स्वास्थ्य चौकी देशको एक मात्र स्वास्थ्य चौकी हो, जुन २४ सै घण्टा चल्छ। सबै सेवाहरु निःशुल्क छ। रेबिज विरुद्धको सेवा पनि सुरु गरेका छौ।’

२४ सै घण्टा आकस्मिक सेवा, आयुर्वेदीक सेवा, प्रयोगशालामा निःशुल्क परीक्षण, निःशुल्क औषधी, आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क एम्बुलेन्स सेवा,नागरिकसँग मेयर कार्यक्रम, उपमेयर सुत्केरी सेवा, गर्भवर्तीलाई निःशुल्क झुल, महिला स्वास्थ्य स्वयंसेविकाका लागि अक्षयकोष स्थापना, सिकलसेलको शिविर सञ्चालन, सबै वडामा आँखा शिविर सञ्चालन लगायतका काम कृष्णपुर नगरपालिकामा भएका छन्।

नगरपालिकाले एक वर्षमा बर्थिङ सेन्टरको भवन, आधारभूत स्वाथ्य केन्द्रको भवन, स्वास्थ्य चौकीमा सिसीटिभी क्यामरा जडान तथा विभिन्न स्वास्थ्य संस्था भवन घेरबार गरिएको छ। उनले भने, ‘१२ वटा युनिटमा, जहाँ बिल्डिङ बनेका थिएनन्,४ नम्बरमा स्वास्थ्य भवन थिएन। ६ नम्बरमा थिएन्। ७ नम्बरमा पनि बन्दैछ। रैकुवा बिचुवा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर निर्माण गर्दैछौ।’

एक हजार सात सय ९२ मिटर सडक कालोपत्र
पूर्वाधार निर्माणमा कृष्णपुर नगरपालिकाले एक वर्षमा एक हजार सात सय ९२ मिटर सडक  कालोपत्र गरेको छ। एक वर्षमा ९ वटै वडामा २२ हजार सात सय ९८ मिटर सडक ग्राभेल गरेको छ।

यस्तै, एक वर्षमा १३ वटा वडा भवन निर्माण भएका छन्। स्वास्थ्य चौकी, विद्यालय, वडा कार्यालय र प्रहरी पोष्टका लागि भवन निर्माण गरिएका हुन्।

विद्यार्थीलाई निःशुल्क अतिरिक्त कक्षा
नगरपालिकाले शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएको दाबी गरेको छ। शैक्षिक क्यालेन्डर बनाएर शैक्षिक गतिविधि सञ्चालन गरिएको छ। नगरपालिकाले दलित तथा  महिला र बालबालिकालाई प्रोत्सानका लागि अनुदान, एसईई तयारीका लागि अतिरिक्त कक्षा सञ्चालन, बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको नगर प्रमुह ओझाले बताए। उनले कृष्णपुरको शिक्षा क्षेत्र उकास्ने काम भएको बताए। सार्वजनिक शिक्षाको क्षेत्रमा उत्साह आएको उनले बताए। 

कृष्णपुर नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरेको छ भने कृषिबाट आयआर्जन गर्न किसानलाई प्रोत्साहन गरिएको बताएको छ। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस