सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेलीको बर्ष २०७५: आशा भन्दा निराशा बढी

निर्मला हत्या प्रकरणदेखि टिकापुर घटनाको फैसला सम्म

२०७५ चैत्र २९, ०१:३० नवराज पनेरु

झण्डै २ दशकपछि स्थानीय तहको निर्वाचन हुँदा बर्ष २०७४ मा ४ हजारको हाराहारीमा जनप्रतिनिधि पाएका सुदूरपश्चिमवासीले बर्षको अन्त्यमा प्रदेश सरकार पनि पाएका थिए। प्रदेशमै मुख्यमन्त्री र अन्य ६ जना मन्त्री पाउँदा संघीयताको कार्यान्वयनसंगै अव विकास र समृद्धिका मुद्धाहरु पनि अगाडी बढ्ने आशा पलाएको थियो। बर्ष २०७४ निर्वाचनकै बर्ष बनेकाले ति निर्वाचित जनप्रतिनिधिहरुले बर्ष २०७५ मा प्रदेशवासीले बोकेका आशा पुरा गर्लान भन्ने विश्वास पनि थियो। तर बर्ष २०७५ को विदाई गर्दै जाँदा फेरी पनि सुदूरपश्चिमेलीहरुको सम्झनामा त्यही दुर्घटना, हत्या, हिसां, बलात्कार लगायतका निराशावादी कुराहरु मात्रै छन्। 

गोली प्रहार गरी रकम लुटपाट प्रकरण
सुदूरपश्चिमवासीका लागि बर्ष २०७५ को बैशाख र जेठ महिना सामान्य नै रह्यो। यद्यपी जेठको मध्यमा प्रदेशको अस्थायी राजधानी धनगढीमा गोली प्रहार गरी साढे ९ लाख रकम लुटेको घटनाले चर्चा पायो। संगै प्रदेशको अस्थायी राजधानीकै सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा हुन थाले। मुख्य बजार स्थित सिद्धार्थ बैंकबाट पैसा निकालेका प्रभु मनि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख लुटिएको थियो। यद्यपी सोही हप्तामै लुटपाटमा संग्लन २ जनालाई काठमाडौँको गोंगबुबाट प्रहरीले पक्राउ गर्न सफल बन्यो। 
सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा 
बर्ष २०७५ मा चर्चामा आएको अर्को प्रकरण हो, सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा नेपाली राष्ट्रिय झण्डा नै उल्टो झुण्डाईएको थियो। राष्ट्रिय झण्डाको चन्द्र माथि र सुर्य तल हुनुपर्ने हो तर मन्त्रालयले माथि सुर्य  र तल  चन्द्र भएको नेपाली राष्ट्रिय झण्डा नै झुण्डाएपछि त्यस्ले देशभरी नै चर्चा पायो। प्रत्येक दिन मन्त्री सहित मन्त्रालयका कर्मचारीले ओहोरदोहोर गर्दा पनि उल्टो झण्डा झुण्ड्याईएको विषयमा वेवास्ता गरेपछि धेरैले मन्त्री र कर्मचारीमाथि नै प्रश्न उठाए। 
माया विकको बलात्कारपछि हत्या प्रकरण
असारको दोश्रो साता कैलालीको मसुरीयामा माया विकको बलात्कारपछि हत्या भयो। असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ की २१ वर्षीया विक असार १५ गते मृत अवस्थामा भेटिएकी थिईन्। विकको शव चपरथली सामुदायिक वनभित्र भेटिएको थियो। घटनाको अनुसन्धान गर्दा यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरिएपछि योजना वनाएर सामुहिक वलात्कारपछि हत्या गरेको रहस्य प्रहरीले खुलायो। यो घटनाले अहिले पनि महिलाहरुको सुरक्षीत नभएको पुष्टि भयो। 
मुख्यमन्त्री र नरेन्द्र खड्को संवाद
साउन महिनामा सामाजिक सञ्जाल फेसवुकमा सुदूपश्चिम फेरी चर्चामा आयो। मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटी राजधानी नबनाएको र अख्तियारको कार्यालय महेन्द्रनगर सारिएको विषयमा उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले थर्काए। खड्काले साउन १५ गते डोटीबाट मुख्यमन्त्री भट्टलाई टेलिफोन गरी राजधानी डोटीबाट धनगढी लगेको र अख्तियारको कार्यालय समेत महेन्द्रनगर सारिएको भन्दै थर्काएका थिए। 
उनले मुख्यमन्त्री भट्टलाई थर्काएको कुरा सामाजिक सञ्जाल फेसबुकमा एकाएक भाइरल भएको थियो। सोही विषयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनायो। मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीसँग टेलिफोनमा गरेको कुराकानी पदिय गरिमा र मर्यादा, व्यक्तिगत चरित्र सूचनाको हक सम्बन्धी ऐन २०६४ र विद्युतीय इलेक्ट्रानिक कारोबार ऐन २०६३ लाई समेत ख्याल नगरी राजनैतिक पूर्वाग्राही तवरले सामाजिक सञ्जाल मार्फत सम्पूर्ण जनतामा भ्रमपूर्ण प्रचार गरिएको आरोप लगाए। पछि एक जना मतदाताले थर्काउदैमा विज्ञप्ती नै निकालेको प्रसंगले पनि चर्चा पायो। यस्ले मुख्यमन्त्रीका सल्लाहकारमाथि पनि प्रश्न उठाइयो। 
निर्मला हत्या प्रकरण
१० साउनमा हराएकी भीमदत्त नगरपालिका २ की निर्मला पन्त अर्को दिन ११ साउन बिहान ८ बजे उखुवारीमा मृत अवस्थामा फेला परिन्। निर्मलाको हत्या बलात्कारपछि घाँटी थिचेर भएको पोष्टमार्टम प्रतिवेदनले देखायो। हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयवासीले आन्दोलन सुरु गरे। घटना भएको २५ औँ दिनमा मानसिक सन्तुलन ठिक नभएका स्थानिय दीलिप बिष्टलाई प्रहरीले निर्मलाको हत्याराको रुपमा सार्वजनिक ग¥यो। तर प्रहरीले निर्दोषलाई फसाएको भन्दै महेन्द्रनगरमा फेरी आन्दोलन चर्कियो। आन्दोलनकारीहरुको निरन्तरको दवाब पछि आरोपी बिष्टकोे डीएनए परिक्षणक गरियो र रिर्पोट नमिलेपछि बिष्ट निर्दोष सावित हुँदै रिहा भए। 
८ भदौँमा स्थानियको निरन्तरको आन्दोलनले एकाएक हिँसात्मक रुप लियो। प्रहरी र आन्दोलनकारीबिच दोहोरो झडप भयो। प्रहरीले लगातार अश्रुग्यास मात्रै हानेन कि गोली पनि चलायो। प्रहरीको गोली लागि एक दर्जन आन्दोलनकारी घाइते भए भने स्थानिय सन्नी खुनाको ज्यान गयो। 
तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरिक्षक दिल्लीराज बिष्ट, र डिएसपी ज्ञान बहादुर सेठी केन्द्र तानिए। जिल्लामा नयाँ सुरक्षा अधिकारी हाजिर भए। ८ भदौँदेखि महेन्द्रनगरमा कफर्यु लगाउन शुरु भएकोमा ३ दिन कफ्र्यु लाग्यो। ९ भदौँमा बम दिदिबहिनीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएपछि आन्दोलन केहि शान्त भयो। गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ७ भदौँमो गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी ९ असोजमा गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझायो। तर उक्त प्रतिवेदन सार्वजनिक गरिएन् र स्थानीयले फेरी आन्दोलन सुरु गरे। 
घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै एसपी विष्ट सहित प्रहरी कर्मचारीलाई सुरुमा निलम्वन र पछि बर्खास्त पनि गरियो। एसपी विष्ट सहितका पुर्व प्रहरी कर्मचारी विरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्धा प¥यो अहिले सवै जना धरौटीमा रिहा भएका छन्। साउनदेखि बर्ष २०७५ को अन्त्यतिर आईपुग्दा पनि निर्मला हत्या प्रकरणका दोषीलाई प्रहरीले कारवाही गर्न सकेको छैन्। यो विचमा दोषीलाई कारवाहीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि धेरै नेताहरुले आश्वासन देखाए तर वास्तवीक दोषी अहिले पनि कानुनी दायरामा ल्याइएको छैन्। 
प्रदेशको राजधानी र नामाकरण विवाद
असोज ९ सम्म प्रदेश ७ रहेकोमा यो प्रदेश ९ गते सुदूरपश्चिम भयो। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आन्दोलन चलिरहेकै बेला प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश सभामा पेश गरियो। सासंद तारालामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको थियो।  संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दियो। पछि सोही प्रतिवेदनलाई प्रतिपक्ष दल नेपाली काग्रेसको अनुपस्थीतीमै सत्तापक्षले बहुमतले पारित ग¥यो। गोदावरीको जंगलमा राजधानी सारिएको र बर्षाैदेखि सुदूर नामले नै हेपिएका प्रदेशवासीलाई फेरी सुदूरपश्चिमेली बनाएको भन्दै विभिन्न स्थानमा आन्दोलन नै सुरु भयो। राजधानी उपयुक्त नभएको भन्दै अहिले पनि सर्वच्चो अदालतमा २ वटा मुद्धा चलिरहेका छन्। तर सुदूरपश्चिम सरकार भने गोदावरीमा राजधानी बनाएरै छोड्ने दावी गर्दै आएको छ। 
राजधानी विरोधमा आन्दोलन भईरहेको समयमा धनगढी उप–महानगरपालीकाका मेयर नृपबहादुर वडले दिएको अभिव्यक्तिलाई लिएर २२ जना सांसदले प्रशासन नै गुहारे। निर्मला हत्या प्रकरणमा एक शब्द नबोलको सत्तापक्षका प्रदेश सभा सदस्यहरु मेयरको अभिव्यक्तिले दंगा भड्काउने भन्दै प्रशासनमा उजुरी हाल्न पुगेपछि आलोचना पनि भयो। दिनेश खवरसंगको कुराकानीमा मेयर वडले अरिंगाल जस्तै झम्टिनुस भन्ने प्रधानमन्त्री केपी वलीलाई कस्ले कारवाही गर्ला ? भन्ने प्रश्न नै गरे। उनले संविधान जलाउने र देश टुक्राउछु भन्नेलाई कारवाही गरेर देखाउन पनि चुनौति दिए। धनगढीमा भएको आन्दोलनका क्रममा मेयर वडले २४ घण्टा भित्र सांसदहरुलाई धनगढी छोड्न र नछोडे सासंद बस्ने ठाउँमा आगो लगाउनपनि पछि नपर्ने प्रतिक्रीया दिएका थिए। दोश्रो दिन आवेगमा गलत बोलीएको भन्दै मेयर वडले आत्म समिक्ष पनि गरिसकेका थिए।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त
बर्ष २०७५ को अर्को चर्चाका व्यक्ति हुन प्रदेश सभा सदस्य दीर्घ सोडारी। पदीय आचरण विपरीत काम गरेको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरियो। सोडारीलाई मन्त्री पदबाट हटाउने नेकपा प्रदेश कमिटिको निर्णय पछि मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरे। सोडारी बर्खास्त भएपछि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नेकपाबाटै विजयी प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई दिईयो। प्रदेश सरकार गठन भएको झण्डै ९ महिनाको अवधीमै सोडारीको मन्त्री पद खोसिएपछि त्यसको कारणको खोजी भयो र विभिन्न र्चा परिचर्चा हुन थाले। तर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने पदीय मर्यादा विपरीत गतिविधी गरेकाले सोडारीलाई मन्त्री पदबाट हटाइएको बताए। सरकार र सोडारीको पार्टी नेकपाले पद अनुरुपको आचरण नगरेकोले मन्त्री पदबाट हटाउनु परेको दावी गरेपनि मन्त्री पदबाट हटाउनका अन्य थुप्रै कारणहरु बाहिर आए।
तर सोडारी भने आफू पार्टीको इमानदार कार्यकर्ता भएकै कारण माननीय भएको र अहिले पार्टीले फिर्ता बोलाएपछि मन्त्री पद छोडेको बताए। 

नेपाल आइडल रवि ओड
बर्ष २०७५ मा सुदूरपीश्चमले पाएको एउटा अनुपम उपाहर बने रवि ओड, नेपाल आइडल सिजन–२ को विजेता बनेसंगै सुदूरपश्चिममा पनि डेउडा बाहेकका गीत गाउने प्रतिभा छ भने थप पुष्टि भयो। तर ओडको खुसि भने धेरै दिन टिकेन। ओडकी आमाको करेन्ट लागेर मृत्यु भयो। पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भयो। विष्णा रविकी कान्छी आमा हुन्। जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए। उनै विष्णाले रविलाई हुर्काएकी थिइन्। तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन हुँदा धेरैलाई दुखि बनायो। 

डडेल्धुरा बस दुर्घटना
सधै ठुला दुर्घटनाले प्रताडित हुने सुदूरपश्चिम बर्ष २०७५ को मंसिर सम्म त्यसबाट जोगिएको थियो। तर मंसिरमा डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भयो। डा. केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भयो। डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो। अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए। मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको थियो। यो घटनाले सुदूरपश्चिमका राजमार्ग अझै सुरक्षित नभएको पनि पुष्टि भयो। 
दार्चुलामा जिप दुर्घटना
फागुनको मध्य तिर सुदूरपश्चिममा अर्को ठुलो दुर्घटना भयो। सदरमुकाम खलंगाबाट दार्चुलाको दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो। राति करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म १ ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खस्दा १ नाबालकसहित ११ जनाको घटनास्थलमै मुत्यु भएको थियो। २०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला–तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो। दुहु गाउँपालिका ५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो। तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा बढी जसो यात्रुहरु उत्रिने र सवारी साधन खाली लगेर पछि फेरि बस्ने गर्थे। तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे। प्रशासनले खाली जिप र ट्याक्टरहरुमा गुड्न दिने भनेपनि सवारी धनीहरुले यात्रुहरुलाई बोक्ने गरेकोले ठूलो दुर्घटना भएको प्रहरीले जनायो। 

टीकापुर घटनाको फैसला
थरुहट÷थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनायो। प्रतिनिधि सभामा विजयी चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन डगौरा, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईयो। तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजायक तोकियो। यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकियो। यि मध्ये चुन्कीराम बाहे ११ जनाले कैद भुक्तानी गरिसकेकाले उनीहरुलाई छोडियो। 
यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिन आदेश दिईयो। यसै गरि करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले थुना मुक्त गर्न आदेश दिईएयो। फरार रहेका ३१ जना मुद्धा मुल्तवमा राखिएको छ। घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो। 

विवादमा कैलाली प्रहरी
बर्षको अन्त्यतिर जिल्ला प्रहरी कार्यालय कैलाली भने विवादमा आएको छ। भारतबाट २३ लाख चोरेर आएका बैतडीका नीरजवहादुर चन्दबाट १३ लाख असुल्दै छोडेको आरोप लागेपछि अहिले कैलाली प्रहरीका अधिकारीमाथि छानविन भईरहेको छ। कैलाली प्रहरीलाई भारतबाट चोरेर ल्याएको १३ लाख असुल्दै चोरीमा संग्लन चन्दलाई छोडेको आरोप लाग्दै आएको छ। 

विकासे योजना अलपत्र
झण्डै चार हजार जना जनप्रतिनिधि पाएका सुदूरपश्चिमका वासीन्दामा यो बर्ष विकास र समृद्धीको ढोका खुल्छ की भन्ने आशा पलाएको थियो। कैलाली र कञ्चनपुरका ४ नगरमा साढे ११ अर्बको क्षेत्रीय शहरी विकास आयोजनासंगै  समृद्धिको सपना  जोडिएको थियो तर चर्चा सुरु भएको चार बर्ष सम्म आयोजना अन्तरगत निर्माण सुरु भएको छैन्। चार शहरलाई आधुनिक र सुविधा सम्पन्न शहर निर्माणका लागि २०१७ को डिसेम्बरदेखि सुरु गरिएको क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण हुने सबै विकासे योजना अहिले नबन्ने पक्का भईसकेको छ। धनगढीदेखि अत्तरीया सम्म ६ लेनको सडक निर्माण सकिन अव महिना दिन भन्दा केहि समय मात्रै बाँकी छ तर प्रगती ३० प्रतिशत मात्रै भएको छ। लामो समयदेखी चर्चामा रहेको गेटा मेडीकल कलेजमा पुर्वाधार निर्माणले भने गति लिएको छ भने धनगढीमै आयुर्वेदीक अस्पतालको काम पनि भईरहेको छ। तराईका सदरमुकाम धनगढी र महेन्द्रनगरका लागी ५०÷५० करोडको सघन सहरी विकास कार्यक्रम अन्तरगत अहिले विभिन्न योजनाको निर्माण जारी छ तर त्यस्मा पनि आशा अनुसार काम हुन सकेको छैन्।  
डेढ दशकदेखी चर्चामा रहेको धनगढी–दिपायल जोड्ने फास्ट ट्रयाकको कामले यसर्वापनि तिव्रता पाउन नसक्दा प्रदेशवासीमा निराशा बढ्दै गएको छ। द्रुत मार्गलाई खेलौना बनाउको आरोप लाग्दै आएको छ। कहिले प्रदेश त कहिले संघीय सरकारले बनाउने भन्दै योजनालाई अलपत्र पारिएको छ जस्ले गर्दा दशौै बर्षदेखि सडक सपना बोक्दै आएका वासिन्दामा निराशा बढेको छ। कैलाली र कञ्चनपुरमा निर्माणाधिन अवस्थाको हुलाकी सडकको निर्माण पनि कछुवा गतिमा छ भने सेती लोकमार्ग र महाकाली करिडोरको अवस्था पनि उस्तै छ। लामो ईतिहाँस बोकेको गौरीफन्टा कायम रहने नरहने र स्तरोन्नती हुने नहुने बिषयले पनि बर्ष २०७५ मा चर्चा कमायो तर यस नाकाका बारेमा प्रष्ट निर्णय नभएका कारण जनतामा निराशा कायमै छ । 
मुख्यमन्त्री कप र कैलाली भ्रमण बर्ष
बर्षको अन्त्यमा हतार–हतार सुदूरपश्चिम सरकारले मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता गर्ने निर्णय ग¥यो। तर प्रतियोगिता बजेट सक्ने मेसो मात्रै बनेको भन्दे अहिले आलोचना भईरहेको छ। नीजि क्षेत्रबाट भईरहेका प्रतियोगितामा दर्शकको ओईर हुन थालेको अवस्थामा मुख्यमन्त्री कपले दर्शक नै पाउन सकेन्। २ करोड बढि बजेट खर्च भएपनि प्रतियोगिताका लागि खेलाडी समेत छनौट नभएपछि खेलाडी उत्पादनमा कुनै भुमिका नै खेल्न नसकेको गुनासो पनि आईरहेको छ। 
यस्तै कैलाली भ्रमण बर्ष पनि बजेट सक्ने मेसो मात्रै बनेको आरोप लाग्न थालेको छ। तमझामका साथ सुरु गरिएको कैलाली भ्रमण वर्ष यात्रु प्रतिक्षालयमा सुटुक्क समापन गरियो। भ्रमष बर्ष अन्तरगत सञ्चालन गरिएका ¥याफिटङ जम्बोरी, डल्फीन महोत्सव लगायतका गतिविधीले पर्यटन प्रवद्र्धनको क्षेत्रमा खासै प्रभाव नपरेको गुनासो गरिएको छ। भ्रमण वर्ष सञ्चालन गरेपछि कति पर्यटक भित्रिए त्यो तथ्याङ्क खोज्न आवश्यक रहेको छ। पर्यटकिय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवम प्रचार प्रसार, कैलाली जिल्लाको समृद्धि विकासको आधार भन्ने नारा दिएर कराडौँ बजेट खर्च गर्दै गत वैैशाख २२ गते कैलालीको चिसापानीबाट भ्रमण वर्ष तामझामका साथ सुरु गरिएकोमा केहि दिन आगडी समापन गरिएको थियो।

खेलकुद क्षेत्रबाट मिलेको आशा
बर्ष २०७५ मा सुदूरपश्चिमका लागी ठुलो उपलव्धी खेलकुद क्षेत्रबाट मिलेको छ। नीजि क्षेत्रको प्रयासमा खप्तड गोल्डकप फुटवल प्रतियोगीताको आयोजना भयो भने नेपालमै सर्वाधीक राषीको क्रिकेट प्रतियोगीता धनगढी प्रिमियर लिग सम्पन्न भएको छ। यस्ले एकातिर खेलकुदलाई व्यवसायीकरण गरीरहेको छ भने सुदूरपश्चिमा खेल पर्यटनको सम्भावना पनि बढाईदिएको छ। यस्तै खेलाडी उत्पादनमा केन्द्रित लिटिल फ्लावर प्रिमियर लिग, फारवेष्ट पशुपति कप, लिटिल फ्लावर सुपर लिगले पनि खेल क्षेत्रमा सुदूरपश्चिमको भविष्य बनाईरहेको छ। 

शुभकामना

समृद्धिका प्रचुर सम्भावना हुँदा हुँदै पनि सुदूरपश्चिमका ४५ प्रतिशत जनता गरिबीको रेखामुनी छन्। झण्डै ९ लाख सुदूरपश्चिमका नागरिकहरु रोजगारीका लागि विदेशीएका छन्। सधै कुरीती र विकृतीले भरिएको क्षेत्रको रुपमा हेरीदै आएको सुदूरपश्चिमलाई समृद्ध बनाउने जिम्मा यसै क्षेत्रका नेताहरुको काधमा आएको छ। नया बर्ष २०७६ मा देशमा राजनीतिक स्थीरता आओस, नेपालीहरुले परिवर्तन संस्थागत भएको हेर्न पाउन, युवाहरुका लागि स्वदेशमै रोजगारीको वातावरण बनोस भने सुदूरपश्चिम आर्थिक विकास र समृद्धीको पथमा लम्कियोस, दिनेश एफएम/खवर परिवारको नव वर्षको शुभकामना।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस