डोटीको बडीकेदार–५ मार्काेटमा सोलार मिनिग्रिड जडानपछि स्थानीय हर्षीत
धनगढीः डोटीको एक वडामा सोलार मिनी–ग्रिड जडान गरिएको छ।
जिल्लाको बडीकेदार गाउँपालिका–५ मार्कोटमा सोलार मिनी–ग्रिड जडान गरिएको छ। वर्षाैँदेखि सल्लाको झोरो, टुकी बालेर अन्धकारमा बस्दै आएका स्थानीयवासी अहिले एक सय किलोवाट क्षमताको सोलार मिनी ग्रिडबाट बत्ती बाल्न पाएपछि हर्षीत भएका छन्।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको सात करोड १२ लाख र बडीकेदार गाउँपालिकाको ७९ लाख गरी सात करोड ९१ लाख ९३ हजार छ सय ३५ रुपैयाँको लागतमा टपसान इनर्जी प्रालिले मार्कोट सौर्य मिनी ग्रिड जडान गरेको हो। मार्कोटमा स्थापना गरिएको मिनी ग्रिडबाट त्यस क्षेत्रका दुई सय ९० घरधुरीमा बत्ती बलेको टपसान इनर्जी प्रालिले जनाएको छ।
मिनी ग्रिडबाट बडीकेदार–५ को मार्कोट, बस्तोला, थानकोट, गडीगाउँ, कुन्थला, धामिगाउँ, सुनडालगायतका गाउँमा सोलारबाट बिजुली जडान गरिएको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन्। सो पालिकाको वडा नम्बर ५ लानाका धेरैजसो बस्ती अझै पनि अन्धकार रहेकाले तत्काल विद्युत् विस्तार गर्न स्थानीयवासीले माग गरेका छन्।
साभारः उज्यालो खबर