सुदूर नेपाललाई विश्वसँग जोड्दै

मार्क्सलाई किन पढ्ने?

२०८० वैशाख २३, १२:१९

केदार सिटौलाः मार्क्सको नाम आउने बित्तिकै सामान्य मानिसहरुमा एउटा प्रश्न उठ्ने गर्छ, अब मार्क्सलाई पढेर के फाइदा हुन्छ? के उनको बिचारले २१ औं शताब्दीका समस्याहरुलाई समाधान गर्न सक्छ?  हुन पनि हो, एक जना १९ औं शताब्दीका दार्सनिक र चिन्तकका बिचारहरु अहिले २१ औं शताब्दीमा पढ्नुको के अर्थ होला ? मार्क्सको समय र अहिलेको समयमा विज्ञान र प्रविधिको क्षेत्रमा आकाश-पातालको परिवर्तन भैसकेको छ।

मार्क्स पहिलो दोश्रो औद्योगिक क्रान्तिको समयमा मानिस थिए। उनको समयमा रेल, टेलिग्राफ जस्ता प्रविधिहरु युगान्तकारी मानिन्थे भने अहिले हामी चौथो औधोगिक क्रान्तिको संघारमा छौँ। जहाँ एआई, फाइभ जी र न्यानो टेक्नोलोजीको प्रमुख भुमिका हुनेछ। यस्तो फरक हुँदाहुदै पनि १९ औं शताब्दीका व्यक्ति कार्ल मार्क्सको सान्दर्भिकता अझै पनि पुरानो भएको छैन। उनको विचारले अझै पनि हाम्रो समयलाई मार्ग निर्देशन गर्न सक्छ।

मार्क्सवादको उत्पत्ति औद्योगिक पुँजीवादी समाजको समस्याहरुसँग जोडिएको छ। अब संसार बदलिसकेको छ। त्यसैले अब उत्तर पुँजिवादी औद्योगिक संसारमा मार्क्सवादको प्रासङ्गिकता समाप्त भएको छ भनेर आलोचना गरिन्छ। यो प्रश्नको जवाफ बेलायती लेखक टेरी ईगलटर्नले राम्रोसँग दिएका छन्। यदि मार्क्सवादको प्रासङ्गिकता समाप्त हुन्छ भने मार्क्सवादी जतिको खुसी कोही पनि हुनेवाला छैनन्। किनकि, मार्क्सवादको अस्तित्व तबसम्म रहनेछ जबसम्म उसको बिरोधी पुँजीवाद रहनेवाला छ।

आज पुँजीवाद समाप्त हुनुको साटो झन् आक्रामक बनेर आएको छ। मार्क्सले पहिले नै अनुमान गरेका थिए कि पुँजीवाद अत्यन्त परिवर्तनशील छ। मार्क्सवादले नै यसको अलगअलग स्वरुपलाई पहिचान गरेका थिए। जस्तै व्यापारी, कृषिप्रधान, औद्योगिक आदि। सन् ७० र ८० को दसकमा पुँजीवादले आफ्नो स्वरुप बदलेर परम्पतागत औद्योगिक उत्पादनको साटो सेवा क्षेत्र, सूचना र प्रविधि र उपभोक्तावाद अगाडि आयो। यो सँगै पुँजीवाद अत्यन्त आक्रमक भएर अगाडि बढेर आएको छ। पुँजीवाद आक्रमक भएर अगाडि बढेसँगै मार्क्सवादीहरुमा निरासवादीता बढेको छ। मार्क्सवादीहरुमा पुँजीवादको अन्त्य गर्न सक्ने हिम्मत हराउँदै गरेको छ। मार्क्सवादको प्रासङ्गिकता नसकिएको तर्कको मूल चुरो यही हो।

अब एउटा प्रश्न फेरि उठ्छ कि मार्क्सलाई पढ्दा के फाइदा हुन्छ ? यसको जवाफ प्रख्यात अमेरिकी इतिहासकार हार्वर्ड जिनले दिएका छन्। हार्वर्ड जिन भन्छन्, 'मार्क्सका पुँजी लगायतका पुस्तकहरु पढ्न जोकोहीलाई पनि कठिन पर्न सक्छ। तर, उनको सानो तर प्रख्यात पुस्तक कम्युनिष्ट पार्टीको घोषणापत्रले हामी बाँचेको संसारको ऐतिहासिक दृष्टि प्रदान गर्छ। यसले कसरी समाजहरु एउटा स्वरुपबाट अर्को स्वरुपमा परिवर्तन हुँदै आए भनेर देखाउँछ।सामाजिक प्रणालीहरु आदिम साम्यवादी समाजदेखि सामन्तवाद हुँदै पुँजीवादसम्म कसरी विकास भए भनेर यो पुस्तकले देखाउँछ। पुँजीवाद पनि यहाँ अनन्तकालदेखि अस्तित्वमा थिएन। यो अस्तित्वमा आएको केही सय वर्ष मात्र भयो। पुँजीवाद जन्म सामन्तवादले प्रविधिको विकासलाई आत्मसात् गर्न नसक्दा भएको हो। वाणिज्यवाद, औद्यौगीकरण र र नयाँ प्रविधिलाई आत्मसात् गर्न नसक्दा सामन्तवादको पतन भयो। जवकि पुँजीवादी समाजले यी कुराहरुलाई आत्मसात् गर्न सक्दा आफूलाई झन् वलशाली बनाउँदै लग्यो।

मार्क्सले पुँजीवादको अर्को एउटा विशेषता उजागर गरेका छन्। पुँजीवादी समाजले अर्थतन्त्रलाई प्रभावकारी ढंगले विकसित बनाउँछ र वस्तुहरुको उत्पादनमा ज्यामितीय रुपमा विस्तार गर्छ। तर, उसले यो विशाल उत्पादनको प्रतिफल स्वरुप प्राप्त परिणामलाई समतामुलक ढङ्गले वितरण गर्न भने सक्दैन। फलस्वरूप समाजमा एउटा सानो धनी वर्ग र बहुसंख्यक गरिव वर्ग उत्पन्न हुन्छ। मार्क्सले १९ औं शताब्दीमा पुँजीवाद बारे गरेको विश्लेषण अहिले झन् सही सावित भएको छ। अक्सफामले गत वर्ष जारी गरेको रिपोर्टअनुसार यति बेला विश्वका १ प्रतिशत मानिसको हातमा बाकँ ९९ प्रतिशत मानिसको भन्दा दोब्बर बढी सम्पत्ति थुप्रिएको छ।

त्यस्तै, मार्क्सको अर्को महत्वपूर्ण देन भनेको वर्गहरुको विश्लेषण हो। मार्क्सका अनुसार कुनै पनि राजनीतिक वा सांस्कृतिक द्वन्दको सतह भन्दा गहिरिएर भित्र हेर्ने हो भने त्यस मुनि वर्ग संघर्ष हुने गर्छ। कुनै पनि परिस्थितिमा एउटा प्रश्न सोध्नु जरुरी हुन्छ कि यसले कसलाई फाइदा पुराइरहेको छ ?  कुन वर्गलाई यसले फाइदा पुर्याउछ ? यदि चुनावमा कुनै पार्टीहरु उठेका छन् भने ती मध्ये कुनै एउटा पार्टी छान्नु पर्यो भने यो पार्टीले कुन वर्गको प्रतिनिधित्व गर्छ भनेर सोध्नु पर्ने हुन्छ। संसदमा कुनै कर सम्बन्धी कानून पेश भयो भने त्यो कानूनले कुन वर्गलाई फाइदा पुर्याउँछ भनेर प्रश्न सोध्नुपर्ने हुन्छ।

मार्क्सवाद बारे परिचय दिँदै लेनिनले १९१३ मा एउटा प्रख्यात लेख लेखेका थिए। लेनिनका अनुसार मार्क्सवादका तीन श्रोतहरुः- जर्मन दर्शनशास्त्र, बेलायती राजनीतिक अर्थशास्त्र र फ्रेन्च काल्पनिक समाजवाद हुन्। यी तीन विचारका श्रोतले मार्क्सलाई अत्याधिक प्रभावित गरेका थिए। अमेरिकी जीव वैज्ञानिक रिचार्ड लेबिन्सका अनुसार अब यो युगमा मार्क्सवादलाई थप सम्बृद्ध गर्नको लागि अरु चार श्रोतहरु महत्वपूर्ण हुने बताएका छन्। ती श्रोतहरु हुन् - पर्यावरण, नारीवाद, राष्ट्रिय संघर्ष र शान्तिवाद। मार्क्सवादलाई अबको युगमा जीवन्त बनाउने हो भने यी चार क्षेत्रमा आफूलाई मार्क्सवादी भन्नेहरुले अध्ययन, मनन् र चिन्तन गर्न जरुरी छ। (सिटौला अधिवक्ता हुन्)
 

कमेन्ट लोड गर्नुस