सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट अभावले गेटा अस्पतालका उपकरण खरिदको टेण्डर रद्द

२०८० वैशाख १४, ०६:४० नारायण अवस्थी

धनगढीः सरकारले  सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई दिइएको बजेट कटौति गरेको छ। सरकारले अस्पताल सञ्चालनका लागि बजेटको सुनिश्चितता गरेको भए पनि ४० प्रतिशत बजेट कटौती गरेको हो।

बजेट कटौती भएसँगै अस्पताल सञ्चालनमा अन्यौलता भएको छ। गेटामा यो आर्थिक वर्षमा २ सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी थालिएको थियो। तर, बजेट कटौती भएसँगै अस्पतालका लागि उपकरण खरिद गर्न खोलिएको टेण्डर रद्द गरिएको छ। गेटामा अस्पताल सञ्चालन गर्न उपकरण खरिद गर्न खोलिएको टेण्डर रद्द भएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए। उनले अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट दरबन्दीको टुङ्गो पनि नलागेको र उपकरण खरिद गर्न गरिएको टेण्डर पनि रद्दद भएको बताए।

अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले साउनबाट २ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको दरबन्दीको प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पेस गरिए पनि कुनै टुङ्गो नलागेको निर्देशक जोशीले बताए। ‘आर्थिक कारणले गेटासहित अन्यत्रको पनि ४० प्रतिशत बजेट कटौती भएको गरिएको छ,' उनले भने, 'यो वर्ष अस्पताल कुन रुपमा चलाउने भनेर छलफल गर्न मलाई काठमाडौं बोलाइएको हो। सानो स्केलमा भए पनि अस्पताल कसरी सञ्चालन गर्ने भनेर छलफलपछि मात्रै टुङ्गो लाग्ने छ।'

दुई सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको दरबन्दीको प्रस्ताव तीन हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पेस गरेको हो। अस्पताल सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनसँगै उपकरण पनि आवश्यक भएकाले उपकरण खरिदको प्रस्ताव पनि तयार गरिएको थियो। जनशक्ति व्यवस्थापन र आधारभूत स्वास्थ्य उपकरणको व्यवस्थापन सँगसँगै गरेर गेटामा अस्पताल सञ्चालन गर्ने योजना प्रस्ताव गरिएको थियो

तर, आर्थिक सङ्कटको चपेटामा गेटाको दुई सय शय्याको अस्पताल पनि परेको छ। अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्न खोलिएको ११ करोडको टेण्डर रद्द गरिएसँगै उपकरण खरिद र अस्पताल सञ्चालन गर्ने विषय अन्यौलमा परेको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस