कञ्चनपुर औलोको उच्च जोखिममा
कञ्चनपुरः भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ।
भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताए।
उनले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताए। स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा १६ जना औलो सङ्क्रमित थिए भने ३१ जना भारतबाट सङ्क्रमण भएर आएका थिए। आव २०७८/७९ मा सङ्क्रमित घटेर छ मा पुगे पनि आयातीत सङ्क्रमितको सङ्ख्या ३० थियो।
चालु आवको हालसम्ममा सङ्क्रमित पाँचजना छन् भने भारतबाट सङ्क्रमित भएर आएका १७ औलो सङ्क्रमित छन्। महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिए। कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका छन्।