बैतडीमा सशस्त्रको झुलाघाट बिओपीमा पूर्वाधारको अभाव
धनगढीः भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटमा रहेको सशस्त्र प्रहरीको बिओपीमा पूर्वाधारको अभाव रहेको छ।
अन्तरराष्ट्रिय सीमा क्षेत्रको सुरक्षाका लागि सीमामा खटिएको सशस्त्र प्रहरीले पूर्वाधारको अभाव झेलीरहेको पाइएको छ। सशस्त्र प्रहरी २०७७ सालमा बिओपी स्थापना गरेर झुलाघाटमा बसेको भएपनि अहिलेसम्म पनि भौतिक पूर्वाधारको अभाव रहेको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा बिओपीमा सशस्त्र प्रहरी रहेका भएपनि भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ।
सशस्त्र प्रहरीको बिओपीमा महिला प्रहरी राख्नका लागि भवनको अभाव रहेको छ। त्यस्तै बिओपीमा सशस्त्र प्रहरीका लागि आवश्यक भान्सा घर, शौचालय, खानेपानी लगायतका अतिआवश्यक पूर्वाधारको समेत अभाव रहेको पाइएको छ। बैतडीमा भारतसंग ६१ किलोमिटर सीमा जोडिएको छ। सीमा क्षेत्रमध्ये तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी राखिएका छन्।
झुलाघाटसंगै शिवनाथको कुस्मौद घाट र पञ्चेश्वरमा सशस्त्र प्रहरीको बिओपी रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक गंगा पन्तले बताइन्। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीका लागि भौतिक पूर्वाधार अभाव हुँदा समस्या भइरहेको छ।