सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक पालिकाका अध्यक्ष र उपाध्यक्षका स्वकीय सचिवले बुझेको रकम फिर्ता गर्नेे   

२०८० वैशाख १०, ०८:०२ खबर संवाददाता

धनगढीः बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका स्वकीय सचिवले अहिले सम्म प्राप्त गरेको सेवा सुविधा बाफतको रकम फिर्ता दाखिला गरिने भएको छ।

गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहराले नियम विपरीत स्वकीय सचिव राखेर तलब भत्ता दिएको बिषयमा व्यापक आलोचना भएपछि गाउँपालिकाले सेवा सुविधा बाफतको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको हो।गाउँपालिकाको पौष १० गते बसेको कार्यपालिका बैठकले स्वकीय सचिव राख्ने निर्णय गर्दै उनीहरुलाई पौष ११ गते करारमा नियुक्ती दिएको थियो।

अध्यक्षको स्वकीय सचिवलाई ३४ हजार र उपाध्यक्षको स्वकीय सचिवलाई ३२ हजार मासिक दिने गरिएको थियो। सम्झौता पौषमा गरेको भएपनि उनीहरुलाई साउनबाटै तलब भत्ता उपलब्ध गराइएको थियो। नियम विपरीत स्वकीय सचिवलाई तलब भत्ता खुवाएको बिषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। स्वकीय सचिवसंग सम्बन्धित समाचारका बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले स्वकीय सचिवहरुले अहिले सम्म तलब बाफत बुझेको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको छ।

अध्यक्षस्तरको बैठकबाट सो सम्बन्धी कार्यविधि नबनुञ्जेल सम्मका लागि स्वकीय सचिवहरुलाई अवकाश दिने निर्णय समेत भएको गाउँपालिकाका प्रवक्ता प्रताप महराले बताए। गाउँपालिकाले आइतबार एक विज्ञप्ती जारी गर्दै स्वकीय सचिवहरुलाई सोमबारदेखि लागु हुने गरेर अवकाश दिने निर्णय भएको उल्लेख गरेको छ।
सुर्नयामा स्वकीय सचिवले बुझेको रकम फिर्ता गर्ने, स्वकीय सचिवलाई अवकाश दिने   

कमेन्ट लोड गर्नुस