धनगढीका चौधरी परिवारको घरजग्गा हडप्न एक दर्जन कैफियत, बैंकको बदमासी छताछुल्ल
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको एक चौधरी परिवारको उठीवास भएको छ। परिवारको स्वामित्वमा रहेको घरजग्गा बिचौलियाको फन्दामा परेर अर्कैको नाममा पुगेपछि तारानगरका मङ्गलप्रसाद चौधरीको परिवार सुकुम्वासी हुन पुगेको छ।
भक्तपुरको लोकन्थलीमा रहेको एपेक्स डेभलपमेन्ट बैंक (पछि एनसीसी बैंकमा मर्ज भएको) एनसीसी बैंक (पछि कुमारी बैंकमा मर्ज भएको) हालको कुमारी बैंक र बिचौलिया तेजराम चौधरी र झापाका सन्तोष आचार्य र उनकी श्रीमती सुशीला खतिवडाको जालझेलमा परेर धनगढी उपमहानगरपालिका–५ तारानगरको चौधरी परिवार बेघरवार हुन पुगेको हो।
हाल कुमारी बैंकबाट जग्गा सकार गर्ने धनगढीका शैलेन्द्रकुमार सिंह र कुमारी बैंकको मिलेमतोका कारण चौधरीको १३ कट्ठा १० धुर जग्गा त्यसमा बनेको अढाई तले एउटा र एक तले अर्को घर लिलामीमा चढेको छ। मङ्गलप्रसाद चौधरीका बुवा गहनु डगौरा थारू (डगौराको गत भदौमा मृत्यु भई सकेको छ) को नाममा रहेको जग्गा तेस्रो पक्ष धितोको रुपमा राखेर तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक र त्यसका अधिकारीले गैरकानूनी काम गरेको देखिन्छ।
एपेक्स डेभलपमेन्ट बैंकले गरेको बदमासी
कैलालीको चौमलाका बिचौलिया तेजराम चौधरी र झापाको महारानी झोडा–६ का तुलसीप्रसाद आचार्यका छोरा पुष्पलाल आर्चायका नाति सन्तोष आचार्य अध्यक्ष रहेको सुशीला एण्ड श्रृजना ट्रेडर्स प्रालिलाई गहनु डगौरा थारूको नाममा रहेको कित्ता नम्बर २० को १३ कट्ठा १० धुर जग्गा तेस्रो पक्ष व्यक्तिगत धन जमानी राखिएको छ।
ऋण निकाल्ने प्रयोजनका लागि खडा गरिएको सुशीला एण्ड श्रृजना टेड्रर्स प्रालिले करदाता सेवा कार्यालय नयाँ सडकबाट २०७२ असोज २८ मा प्राप्त गरेको करचुक्ताको प्रमाणपत्रमा कम्पनीले जम्मा १३ लाख १० हजार ७५० आय अर्थात कारोवार गरेको खुलेको छ। यति थोरै कारोवार गरेको कम्पनीलाई २०७२ कात्तिक १९ मा एपेक्स डेभलपमेन्ट बैंकले ३ करोड ऋण दिएको छ।
२०७२ कात्तिक १ गते आइतवार बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्टको संयोजकत्वमा बैंकको केन्द्रीय कार्यालयमा बैठक बसेको बैंठकले धनगढीमा गहनु डगौरा थारू र कैलालीको टीकापुरका अमरबहादुर दमाईको जग्गा धितो राखेर कम्पनीका अख्तियारी प्राप्त अधिकारी तेजराम चौधरीको व्यवसायिक ओडी कर्जा स्वीकृत गरेको छ।
कर्जा दिन गहनु डगौरा थारुको धनगढी तारानगरको १३ कट्ठा १० धुर र दमाईको टीकापुरको १९ कट्ठा जग्गा धितो राखिएको छ। बैंकले ऋण दिन गरेको निर्णयमा बैंकका कर्जा विभाग प्रमुख मोहन खरेल, वरिष्ठ प्रवन्धक दुर्गादत्त जोशी, वरिष्ठ प्रवन्धक विकास श्रेष्ठ, सहायक महाप्रवन्धक रामचन्द्र बसौला र निमित्त प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्टको हस्ताक्षर छ।
कैफियत–१
बैंकले तेस्रो पक्ष व्यक्तिगत धन जमानी राख्न मिल्दैन। पाँच जना सञ्चालक रहेको सुशीला एण्ड श्ररृजना ट्रेडर्स प्रालिका कसैको पनि आफ्नो धितो छैन। ऋण लगानी गर्न धितो दिने व्यक्ति (गहनु डगौरा थारू) प्रत्यक्ष सरोकारवाल व्यक्ति होइनन्। उनी कम्पनीको सेयर सदस्य पनि होइनन्। गहनु डगौरा थारूको नाति मनोजकुमार चौधरीको ऋण निकाल्न बसेको बैठकको निर्णयमा किर्ते हस्ताक्षर गरिएको छ।
कैफियत–२
धितो दिने व्यक्ति गहनु डगौरा थारूको जग्गा धितो राख्नु पूर्व बैंकले गहनुका छोरा मङ्गलप्रसाद चौधरी, उसको श्रीमती तिलकमोती देवी चौधरी र उमेर पुगेका अंशियारहरूको मन्जुरी लिनुपर्ने कानूनी व्यवस्थालाई लत्याउँदै धितो स्वीकार गरिएको छ। यसरी कानून मिचेर ऋण दिनुको पछाडि जुन कुराले काम गर्यो त्यसले गहनुको सन्ततीलाई घरवार बिहिन बनाएको छ।
कैफियत–३
धितो दिने गहनु लेखपढ गर्न नजान्ने व्यक्ति थिए। मालपोत कार्यालय धनगढीबाट जग्गा रोक्का गर्दा अन्य अंशियारको मन्जुरीनामा लिइएको छैन। बैंकले मन्जुरीनामा लिन आवश्यक किन ठानेन?
कैफियत–४
कम्पनीका पाँच जना सञ्चालक छन्। तर गहनुको नाति मनोजकुमार चौधरीलाई कम्पनीको सञ्चालक समिति सदस्य बनाइएको छ। जग्गा धितो राखेर प्राप्त भएको ३ करोड ऋण मनोज बाहेकले चलाए। तर, यो विषयमा बैंकले तिनीहरूलाई कुनै कारबाही गरेन। यो विषयबाट बैंकको मिलेमतो रहेको पुष्टि हुन्छ।
कैफियत– ५
केबल १३ लाख १० हजार ७५० आय अर्थात कारोवार गरेको खुलेको कम्पनीलाई एकै पटक ३ करोड ऋण दिन सकिने आधार र भरोसा के थिए?
कैफियत– ६
मनोज चौधरीले बताएअनुसार सन्तोष आचार्यको काठमाडौंको बौद्धमा करोडौंको होलसेल व्यापार छ। गहनुको तारानगरको जग्गामा मङ्लप्रसादले आफ्नो नाममा रहेको श्रीपुरको १५ कट्ठा र श्रीमतीले माइतीबाट दाइजोमा पाएको धनगढी–६ जालीको ५ कट्ठा जग्गा बिक्री गरेर २०७५ मा अढाई तलाको घर निर्माण गरेका छन्। घर निर्माण गर्दा अढाई करोड खर्च भएको छ। सो घर धितोमा छैन। तर, बैंकले लग्दा उक्त घर देखाएको छैन। बैंकले जग्गा आफ्नो नाममा लिँदा घर उल्लेख नगरी राजश्व छल्ने काम गरेको छ भने अहिले कुमारी बैंकको नामबाट शैलेशकुमार सिंहलाई जग्गा बिक्री गर्दा पनि घर उल्लेख नगरेर सोको मुल्याङ्कन गरी राजश्व तिरे बुझाएको देखिदैन।
कैफियत– ७
गहनु डगौरा थारुको जग्गा एनसीसी बैंकले २०७८ चैत २२ मा सकारेको छ। उक्त सम्पत्ति आफ्नो भोगमा नल्याएरै हतारहतारमा हालको खरिदकर्ता शैलेशकुमार सिंहलाई बिक्री गरेको देखिन्छ। यो जग्गाको हाल बजार मूल्य १५ करोड पर्छ। तर, बैंकले ५ करोड ९२ लाखमा दियो। यसबाट के पुष्टि हुन्छ भने बैंकले आफ्नो भोग चलनमै नल्याइकन जग्गा हस्तान्तरण गर्नु कार्यविधिगत त्रुटि रहेको छ। त्यसको एक प्रमाण कुमारी बैंकले २०७९ चैत २९ मा मृतक गहनु डगौरा थारूको नाममा ३५ दिनभित्र घर जग्गा खाली गर्न पठाएको पत्र हो। जबकि, शैलेशकुमार सिंहको नाममा जग्गा २०७९ चैत १४ गतेको दिन आइसकेको छ।
कैफियत– ८
जमानतकर्ता गहनु जम्मा ३ करोडमा जमानत बसेको देखिन्छ भने निजको अंश भाग मात्रै बैंकले लिलाम बिक्री स्वीकार गर्न पाउने हो। तर, ५ करोड ९२ लाख पूरै असुल गरिएको छ। सर्वोच्च अदालतले मुद्दा नम्बर ०६७–एनएच–०००१ उत्प्रेषण निश्चित परमादेशको मुद्दामा राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूलाई १४ बुँदे निर्देशन जारी गरेको छ। निर्देशन नम्बर ७ मा ‘जमानीकर्ताले बोलकबोल गरेको दायित्वको रकम सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानतकर्ताले दिएको सुरक्षणबाट असुलीको प्रक्रिया बढाउने’ भनिएको छ। यस्तै, निर्देशन नम्बर ५ मा ‘धितो कानून बमोजिम पक्का वा कच्चा हेर्नुपर्ने’ उल्लेख छ। तर, यी सबै निर्देशनात्मक आदेशको उल्लङ्घन हुने गरी धितो लिएको र सकार गरेको देखिएको छ।
कैफियत–९
धितोका अंशियारहरूलाई नै बुझी जमानतकर्ताले दिएको धितोमा अंशियारहरूको सहमति लिनुपर्ने, अंशियारहरूको सहमति र मञ्जुरी नभएमा अंशियारहरूको धितो जमानत बिक्री गर्न नमिल्ने, प्रचलित कानूनले अनिवार्य अंशियारको मञ्जुरी लिनुपर्नेमा सो समेत लिएको देखिदैन।
कैफियत–१०
२०७९ पुस १९ गते नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित १५ दिने सूचना हेरेर गहनु डगौरा चौधरीको नाममा रहेको तारानगरको कित्ता नम्बर २० को जग्गा ५ करोड ६० लाखमा बिड गरेको खरिदकर्ता शैलेशसिंहले बताएका छन्। सिंहले आफूले बिड गरेको रकम कम भएकोले फेरि ३२ लाख थपेको बताएका छन्। सिंहले बिड गरेको रकम कम थियो भने टेण्डर रद्द गरेर फेरि सूचना किन गरिएन? यसमा बैंक र सिंहको मिलेमतो रहेको पुष्टि हुन्छ कि हुँदैन?
कैफियत –११
प्रभु बैंकको काठमाडौंस्थित ग्वार्को शाखाबाट गहनु डगौरा थारूको घर तथा जग्गाको २०७८ चैतमा मुल्यांङ्कन गरिएको छ। धनगढीको आरबी कन्सल्टेन्सीले गरेको मुल्याङ्नमा घर तथा जग्गाको प्रचलित मूल्य ११ करोड ८३ हजार ७३१ रुपैयाँ ६० पैसा निकालिएको छ। तर, एक वर्षपछि यो जग्गा र घर कुमारी बैंकले सिंहलाई ५ करोड ९२ लाखमा दिएको छ। अहिलेको बजार मूल्यमा यो घरजग्गाको बजार मूल्य १५ करोड हुन आउँछ। जग्गाधनी गहनुकै अंशियारले केही जग्गा बिक्री गरेर बैंकको ऋण चुक्ता गर्न सक्ने अवस्था हुँदाहुँदै चौधरी परिवारलाई बैंकले किन सहयोग गर्न आवश्यक ठानेन? सुशीला एण्ड श्रृजना ट्रेडिङका अन्य चार जना सञ्चालकहरूलाई किन उन्मुक्ति दिने काम गरियो?
कैफियत–१२
मुलुकी देवानी संहिताह–२०७४ को दफा ४१९ मा ‘मञ्जुरी नलिई सगोलको सम्पत्ति हस्तान्तरण गर्न नपाउने’ प्रावधान छ। उपदफा (१) मा ’कसैले पनि सगोलका अंशियारको लिखित मञ्जुरी नलिई सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न पाउने छैन’ भन्ने उल्लेख छ। यस्तै, उपदफा (३) को (१) विपरीत कसैले सगोलको सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा छ त्यति सम्पत्ति मात्र हक हस्तान्तरण गरेको मान्य हुनेछ। निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्ति सम्बन्धित अंशियारले फिर्ता लिन पाउनेछ भन्ने कानूनी व्यवस्था छ। एनसीसी बैंक र कुमारी बैंकले प्रचलित कानूनको उल्लंघन गरेर गहनुको घरजग्गा लिलाम गरेको देखिन्छ भने एपेक्स डेभलपमेन्ट बैंकले पनि गैरकानूनी तरिकाले जग्गा धितो राखेर ऋण लगानी गरेको कानून व्यवसायीले बताएका छन्।
बैंककै अधिकारीहरूले पनि यस्तो प्रकृतिको धितो सकार गर्दा र बिक्री गर्दा बैंकका अधिकारी र खरिदकर्ताबिच मिलेमतो नहुँदासम्म काम हुनै नसक्ने बताएका छन्। तर, जग्गा खरिदकर्ता शैलेशकुमार सिंहले बैंकबाट नियमसँगत तरिकाले जग्गा खरिद गरेको बताएका छन्। उनले बैंकले निकालेको सार्वजनिक सूचना र नेपालको प्रचलित ऐन र कानूनको अधिनमा रहेर जग्गा खरिद गरिएको दाबी गरेका छन्।
लगानी फिर्ता भए जग्गा छोड्न तयार छुः सिंह
चौधरीको जग्गा कुमारी बैंकबाट खरिद गरेका शैलेशकुमार सिंहले आफूले तिरेको रकम फिर्ता पाए जग्गा चौधरीकै नाममा फिर्ता गर्न तयार रहेको बताए। उनले आफूले कानूनको अधिनमा रहेर जग्गा खरिद गरेको भए पनि विवाद आएकाले पहिलेका जग्गा धनी या अरू कसैले आफूले तिरेको रकम फिर्ता गरे जग्गा नामसारी गर्न तयार रहेको बताए।
यो पनि पढ्नुस्...
धनगढीका डगौराको परिवार कुमारी बैंक र बिचौलियाको फन्दामा, यसरी भए सुकुम्वासी