सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका डगौराको परिवार कुमारी बैंक र बिचौलियाको फन्दामा, यसरी भए सुकुम्वासी

कुमारी बैंकले  लिलामी गरेका र शैलेससिंहले सकारेको डगौराका दुई घर।
कुमारी बैंकले लिलामी गरेका र शैलेससिंहले सकारेको डगौराका दुई घर।
२०७९ चैत्र २३, ०६:१४ नारायण अवस्थी

धनगढीः कुमारी बैंक र बिचौलियाको फन्दामा परेर धनगढीको एक परिवार सुकुम्वासी भएको छ। कुमारी बैंक र बिचौलिया तेजराम चौधरी र झापाका सन्तोष  आचार्य र उनकी श्रीमती सुशीला खतिवडाको जालझेलमा परेर धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको एक चौधरी परिवार बेघरवार हुन पुगेको छ।

तारानगर यातायात कार्यालय जाने मुख्य सडकसँग जोडिएको राष्ट्रिय आधारभूत विद्यालयको पूर्वमा रहेको गहनु डगौराको नाममा रहेको १३ कट्ठा १० धुर जग्गा र दुई वटा घर बैंकले लिलामी सकारेर अरुलाई नै बिक्री गर्दा सगोलमा बस्दै आएका  गहनु चौधरीका छोरा-बुहारी र दुई नाति र नातिनी बुहारीको परिवारको बिचल्ली भएको हो।

बाजेको नामको जग्गाको ऋणी नातिलाई बनाइयो

गहनु चौधरीका नाति मनोजकुमार चौधरी र कैलालीको गौरीगङ्गा वडा नम्बर १ चौमला घर भएका तेजराम चौधरी स्कुल पढ्दाका साथी हुन्। धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा १० कक्षासम्म सँगै अध्ययन गरेका मनोज र तेजरामको भेट २०७० मा धनगढी हुन्छ।

तेजरामले मनोजलाई आफू केही वर्ष विदेश बसेर फर्केको र नेपालमा केही व्यवसाय गर्ने सोच बनाएको गफ लगाउँछन्। मनोज बेरोजगार भएको थाहा पाएका तेजराम मनोजसँग नियमित भेट्न थाले। उनको मनोजको घरमा आउजाउ बाक्लिन थाल्यो। घरमा आउजाउ गर्दा तारानगरमा सडक छेउमा रहेको घर जग्गा देखेका तेजरामले एक दिन मनोजसँग मिलेर कम्पनी खोल्ने र व्यापार गर्ने कुरा गर्छन्। तर, त्यसका लागि मनोजले जग्गा बैंकमा राख्नुपर्ने बताए। तेजरामले मनोजको जग्गा ६ महिनापछि फुकुवा गर्ने आश्वासन दिएर बैंकमा धितो राख्न राजी गराएको मनोज बताउँछन्।

जग्गा दिए बापत चौधरीलाई सञ्चालक समिति सदस्य उपहार

बाजेको नाममा भएको जग्गा मनोजलाई ऋणी बनाएर धितो राख्नुपूर्व झापा जिल्ला महारानी झोडा- ६ का  तुलसीप्रसाद आचार्यका छोरा पूष्पलाल आर्चायका नाति सन्तोष आचार्य अध्यक्ष रहेको सुशीला एण्ड श्रृजना ट्रेडर्स प्रालिको सञ्चालक समिति सदस्य पद उपहार दिने काम गरिएको छ।

सञ्चालक समितिमा सन्तोषकी श्रीमती सुशीला खतिवडा, तेजराम चौधरी र तुराराम नेपालीलाई पनि सदस्य बनाइएको छ। २०६२ बैशाख ५ गते दर्ता मिति भएको कम्पनीको स्थायी ठेगाना काठमाडौं- २४ गुञ्चाटोल उल्लेख गरिएको छ। दर्ता नम्बर ३३८७४/०६१-०६२ रहेको यो कम्पनीले चीनबाट सामान ल्याएर नेपालमा बिक्री गर्ने भन्ने कुरा सन्तोष र तेजरामले  मनोजकुमार चौधरीलाई बताएका थिए।

जग्गा धितो राखेर ३ करोड निकाले चौधरीले एक रुपैयाँ पाएनन्

धनगढी तारानगरको जग्गा मालपोत कार्यालय धनगढीमा रोक्का गरेसँगै २०७२ असोज २८ गते भक्तपुरको लोकन्थलीमा रहेको एपेक्स डेभलपमेन्ट बैंक लिमिटेडमा चौधरीको जग्गा धितो राखिएको छ। चौधरी जस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ३ का तुलाराम नेपालीको जग्गा पनि सोही दिन दृष्टि बन्धकमा राख्ने काम सन्तोष र तेजरामले गरेका छन्।

तुलाराम दमाईको बुवा  अमरबहादुर दमाईको १९ कट्ठा र गहनु डगौराको जग्गाको मुल्याङ्कन ५ करोड ९२ लाख गरिएको छ। तर, एपेक्स डेभलपमेन्ट बैंकबाट ३ करोड ऋण भने  सुशीला एण्ड श्रृजना ट्रेडर्स प्रालिका नाममा सकारिएको छ। जसका सञ्चालकमा जग्गा धनी डगौराका नाति मनोजकुमार चौधरी र तुलाराम नेपाली पनि रहेको कागतपत्र तयार गरिएको छ।

जग्गा धनी डगौरा र नेपालीलाई एक रुपैयाँ नदिएर २०७२ कात्तिक १ गते कम्पनीको सञ्चालक समितिको बैठक बसेको देखाएर सन्तोष आचार्यलाई सामान खरिद गर्न चीन पठाउने र सन्तोषको अनुपस्थितिमा कम्पनीको काम गर्ने आधिकारिक प्रतिनिधि तेजुराम चौधरीलाई तोकिएको छ। त्यो बैठका मनोजकुमार चौधरीको उपस्थिति र किर्ते हस्ताक्षर छ। बैठक बसेको र निर्णय भएको बारे चौधरी अनविज्ञ छन्।
 

'एपेक्स डेभलपमेन्ट बैंकले ५० लाख घुस खायो'

मनोजकुमार चौधरीले तेजराम चौधरीले ६ महिनामा लालपुर्जा फिर्ता गर्ने भनेकाले जग्गा धितो राख्न बाजेलाई मनाएको बताएका छन्। मुल्याङ्कन ५ करोड ९२ लाख गरेको बैंकले ३ करोड ऋण दिन नमानेकाले ५० लाख कमिसन दिएर बैंककै एक अधिकारीको नाता पर्ने व्यक्तिलाई ५० लाख घुस दिएर सन्तोष आचार्य र तेजराम चौधरीले ऋण लिएको चौधरीको दाबी छ। ऋण लिएपछि सन्तोष र तेजराम सम्पर्कमा नआएको तथा बैंकले पनि ऋणको व्याज नतिरेको भनेर घरमा पत्र नपठाउँदा भएको सबै जायजेथा गुमेको चौधरी परिवारको दुखेसो छ।

एपेक्स डेभलपमेन्ट बैंकले २०७३ मंसिर ३ गते कर्जा तिर्न आउने बारे सन्तोष आचार्यसहित पाँच जना ऋणीको नाममा सार्वजनिक सूचना निकालिएको छ। तर, यो सूचना बारे धनगढीमा रहेका चौधरी परिवारले अहिले मात्र आएर थाहा पाएका छन्। 'हामीबाट लालपुर्जा लगेदेखि एक पटक तेजरामसँग काठमाडौं गएको हुँ,' उनले भने, 'त्यहीँ मैले सन्तोष आचार्यलाई भेटेको हुँ। नत्र मेरो परिचय तेजरामसँग मात्रै थियो। बैंकबाट हाम्रो जग्गा धितो राखेर ५० लाख घुस दिएर ३ करोड निकाले तर टीकापुरका तुलाराम नेपाली र मलाई एक रुपैयाँ पनि दिएनन्। हामीलाई ६ महिनाभित्र लालपुर्जा दिने भनेका थिए। हामी पत्यायौँ र अहिले फसेको थाहा भयो।'

एपेक्सबाट एनसीसी अनि कुमारी बैंक हुँदै जग्गा लिलामी

भक्तपुरको लोकन्थलीको एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकमा गाभिएको छ। यस्तै, अहिले एनसीसी बैंक कुमारी बैंकमा मर्ज भएको छ। कुमारी बैंकमा एनसीसी मर्ज भएपछि मनोजकुमार चौधरीले आफ्नो जग्गाको ऋण तिर्ने बताए पनि बैंकले तुलाराम नेपालीको जग्गाको पनि ऋण तिर्नुपर्ने भनेको चौधरीले बताएका छन्।

'म कुमारी बैंकमा गएर साँवा र व्याज तिर्जु मलाई समय दिनुपर्यो भने तर बैंकले टीकापुरका नेपालीको जग्गाको पनि एकमुष्ट ऋण चुक्ता गर्न भन्यो,' उनले भने, 'तर अहिले हाम्रो जग्गा मात्रै लिलाम सकार्न लगाएर अर्कैको नाममा पास भइसकेको छ। जग्गा सकार्ने धनगढीका शैलेशकुमार सिंह दिनदिनै घरमा आएर घर खाली गर्ने धम्की दिन थालेका छन्।'

कुमारी बैंकमा ७० लाख डिपोजिट राखेर बाँकी पैसा खोज्न समय दिन आग्रह गरे पनि बैंकले कुनै सहयोग नगरेको चौधरीको भनाइ छ। उनले ६ करोडभन्दा एक रुपैयाँ कममा जग्गा फुकुवा नहुने बताए पनि शैलेशकुमार सिंहले भने ५ करोड ९२ लाखमा चौधरीको प्रदेश वन निर्देशनालय रहेको अढाई तले र एक तले अर्को घर सहितको १३ कट्ठा १० धुर जग्गा हात पारेका छन्।

बैंकले सिंहसँगको मिलेमतोमा आफ्नो पूरै परिवारलाई सुकुम्वासी बनाएको चौधरी परिवारले बताएका छन्। चलनचल्तीको बजार मूल्यअनुसार तारानगरको दुई घरसहितको कम्तिमा १५ करोड मूल्यको जग्गा एक रुपैयाँ हेर्न नपाएर गुमेको पीडा शब्दमा बयान गर्न नसकिने मनोजकुमार चौधरीका बुवा मङ्गलप्रसादले आँसु झार्दै भने।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस