सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हुलाकी सडक चौडाई बनाउने अवधि सकिदैँ, ५० प्रतिशत काम अधुरै

२०८० वैशाख ८, ०२:४६ खबर संवाददाता

धनगढीः कैलालीमा पूर्वपश्चिम हुलाकी राजमार्ग चौडाइ बढाउने परियोजनाको तोकिएको अवधि तीन महिना बाँकी नहुँदा प्रगति ५० प्रतिशत पनि पुग्न सकेको छैन्।

२०७७ साउनबाट ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएकोमा सो अवधि सकिएर थपिएको ६ महिनाको तीन महिना बाँकी हुँदा पनि निर्माण कम्पनीले निर्माण कार्यलाई तीव्रता दिन सकेको छैन्। धनगढीदेखि सत्तिसम्म ६० किलोमिटर सडकको सातवटा खण्डमा मध्ये बेली–कटैनी खण्डमा ४५ प्रतिशत र धनगढी–बेली खण्डमा ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ।

कार्यालयका प्रमुख सविन जोशीले बाँकी खण्डमा पनि सोही हाराहारीमा काम भएको बताए। उनले धनगढी–बेली खण्डको चारलेन खण्डमा कालोपत्रेको काम सुरु भइसकेको बताए। धनगढी–भजनी–सत्ती सडकको पहिलो तीनवटा प्याकेजमा स्वछन्द र जोशी जेभीले एक अर्बको लागत सम्झौता गरी काम गरिरहेको छ भने चौठो र पाँचौ प्याकेजमा कालिका र जोशी जेभीले ३२ करोड ७२ लाख लाग सम्झौतामा काम गरिरहेको छ।

हुलाकी सडक चौडाइ गर्ने कार्य सुरुको अढाइ वर्ष बढी समय भए पनि केही खण्डहरूमा माटो फिलिङ र वाल निर्माणबाहेकका काम हुन सकेका छैनन् भने केही खण्डमा कल्भर्टहरू चौडा गर्ने कार्य भरखरै चलिरहेको छ। सडकको संरचना निर्माण र सब–बेस र बेस निर्माण गर्न पनि बाँकी नै छन्।

धनगढी–भजनी–सत्ती सडकमा क्याम्पस चोकदेखि सात किलोमिटरको पहिलो प्याकेजमा तीन किलोमिटरमा सडकको सम्पूर्ण संरचना निर्माण गरी कालोपत्रे गर्ने चरणमा पुगेको छ। कटैनीदेखि कान्द्रासम्मको १८ किलोमिटर खण्डमा पहिलो चरणमा चौडाइ बढाएर निर्माण सम्पन्न गरिएको छ। लम्की–टीकापुर–खक्रौला २९.७ किलोमिटर सडकको लम्की क्षेत्रमा साढे दुई किलोमिटर र टीकापुरमा तीन किलोमिटर सडकलाई चार लेनको बनाइँदैछ।

धनगढी र लम्कीको चार लेनको काम समयमा सकिने गरी अगाडि बढे पनि टीकापुरको चार लेन सकडको काम पनि सुस्त गतिमा छ। लम्की–टीकापुर–खक्रौला सडकको पहिलो खण्ड लम्की क्षेत्रमा कालिका कुमार जेभी, दोस्रो खण्ड टीकापुरमा खड्का कृष्ण जेभी र तेस्रो खण्डमा खक्रौला क्षेत्रमा रायमाझी जेभीले ७० करोड २८ लाख लागत सम्झौतामा काम गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस