मुख्यमन्त्री शाहलाई ११ बुँदे ज्ञापन पत्र
धनगढीः बैतडीको पाटन नगरपालिकाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिहीबार ११ बुँदे ज्ञापन पत्र बुझाएको छ।
बैतडी पुगेका मुख्यमन्त्री शाहलाई नगरपालिकाका तर्फबाट स्वागत गर्दै विभिन्न योजनासहित ११ बुँदे ज्ञापन पत्र बुझाएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए। ज्ञापन पत्रमा बैतडी विमानस्थल पाटनमा नियमित हवाई उडान व्यवस्था मिलाइ दिन आग्रह गरिएको छ।
त्सका साथै पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन –लोर्खा खण्ड मर्मत,पाटन नगरपालिकाको वडा नं– ५ र ६ मा उपत्यका कृषि तथा फलफूल बिशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। त्यस्तै पाटन नगरपालिकाको वडा नं–१,२,३, ४,७, ८, ९ र १० मा आलु,मकै, लसुन, प्याज, ओखर जस्ता बालीको भण्डारण तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ।
यस्तै पाटन नगरपालिका धार्मिक पर्यटकीय क्षेत्र रामेश्वर धाम, स्वर्गेनी पीपल धाम, महारुद्र धाम, विश्वनाथ वनारसी धाम, पातालु भुवनेश्वर धाम, टुणे शिवलिंग धाम, समैजी सदाफल धाम,सिद्धनाथ उदयदेव धाम हुँदै पुनः रामेश्वर धाम जोड्ने सडक निर्माणकामाग लगायत ११ माग गरिएको छ। यस्तै संघ र प्रदेश सरकारबाट सञ्चालनमा रहेका योजनाहरुको स्थानीय तहबाट अनिवार्य अनुगमनको व्यवस्था गर्न समेत आग्रह गरिएको छ।
पाटन नगरपालिकाले बुझाएको ज्ञापन पत्रमा पाटन क्षेत्रमा प्रदेश मातहतका कार्यालय स्थापनाका लागि नगरपालिकाले जमीन उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।