सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोटमा पशु व्यवस्थापनका लागि तारबार, वनको अवरोधले समस्या

२०८० वैशाख २, ११:५८ कमल सावद

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकाले एक हजार सामुदायिक पशुलाई घेरबारभित्र थुनेको छ। नगरपालिकाले वडा नम्बर ४ को बालज्योती माध्यामिक विद्यालयको जमिनमा सामुदायिक पशुलाई घेरबार लगाएर थुनेको हो। पाँच बिघा क्षेत्रफलमा तारबार लगाएर सामुदायिक पशुको व्यवस्थापन गरिएको भए पनि वनका अधिकारीहरुले भने अवरोध गरेका छन्।

वन क्षेत्रमा नगरपालिकाले घेरबार लगाएको भन्दै उनीहरुले अवरोध गरेका छन्। वेदकोट नगरपालिकाले सामुदायिक पशुको व्यवस्थापन गरेको जनाएको छ। छाडा पशु चौपायाका कारण सडक दुर्घटना हुँदै आएको र किसानको खेतबारीमा नोक्सानी गर्न थालेपछि नगरपालिकाले विद्यालयको जमिनमा तारबार गरेर पशुको व्यवस्थापन गरेको छ।

वडा नम्बर ४ मा रहेको बालज्योती माध्यामिक विद्यालयको जग्गामा झण्डै एक हजार पशुको व्यवस्थापन गरिएको छ। तर पशुको संख्या धेरै भएकाले व्यवस्थापनमा समस्या भएको हेरालुले बताए। वेदकोट नगरपालिकाले झण्डै एक हजार पशुलाई बालज्योती माध्यामिक विद्यालयको पाँच बिघा जमिनमा तारबार लगाएर व्यवस्थापन गरेको छ।

तर विद्यालयको भनिएको जग्गा जंगल क्षेत्र रहेको भन्दै वनका कर्मचारीले अवरोध गर्दै आएका छन्। वनमा तारबार गरेर रुखहरु सखाप हुने भन्दै उनीहरुले अवरोध गरेका हुन्। वेदकोट नगरपालिका–४ का अध्यक्ष नरेन्द्रबहादुर बोहराले डिभिजन वनका कारण गौशाला निर्माणमा समस्या भएको बताए।

उनले भने, ‘हामीले विद्यालयको जग्गामा पशु व्यवस्थापन गरेका छौ। तर वनले समस्या गर्दैछ। हामी छलफलमा छौ। कार्यविधिसमेत बनाएका छौ।’ नगरपालिका क्षेत्रमा सामुदायिक पशुको व्यवस्थापनका लागि स्थानको अभाव छ। सोही कारण वडा नम्बर ४ को बालज्योती माध्यामिक विद्यालयको जमिनमा पशुको व्यवस्थापन गरिएको हो।

नगरपालिकाले पशुका लागि पानी तथा आहारा र हेरालुकोसमेत व्यवस्थापन गरेको छ। नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट कम्तीमा दैनिक २४ हजार पशु व्यवस्थापनमा खर्च गर्दै आएको छ। नगर प्रमुख भोजराज बोहराले स्थायी व्यवस्थापन गर्ने काम भइरहेको बताए। उनले भने, ‘हामीले वडा नम्बर ४ को बालज्योती विद्यालयको जमिनमा पशुचौपायाको व्यवस्थापन गरेका छौ। स्थायी व्यवस्थापनको लक्ष्य हो।’ नगरपालिका क्षेत्रका पशुको व्यवस्थापनका लागि १६ लाख बजेट विनियोजन गरिएको थियो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस