औद्योगिक क्षेत्र दैजी–छेलाभित्र ४३ हजार रुख काटिने, निर्माणको टुंगो छैन
धनगढीः कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र निर्माणका लागि ४३ हजार रुख काट्नुपर्ने देखिएको छ।
यसका लागि छपान र लगत लिने काम भइरहेको हो। औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनमा २५ हजार ९ सय ६८ रूख काट्नुपर्ने उल्लेख थियो। तर ४३ हजार रुख कटानीका लागि छपान गर्न लगत संकलनको काम भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको छ। औद्योगिक क्षेत्र निर्माणका लागि रुख छपान र लगत लिने काम अघि बढे पनि रुख कटान कहिलेदेखि हुन्छ टुंगो छैन्।
संघीय मन्त्रिपरिषद बैठकबाट २०७२ चैत १ गते दैजी–छेलामा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएको थियो। निर्णयअनुसार पूर्वमा मुक्तकमैया बस्ती, पश्चिममा दैजी–जोगबुढा सडक, उत्तरमा वन र दक्षिणमा चाँदनीफाँटा बस्तीभित्रको ९ सय बिघामा औद्योगिक क्षेत्र स्थापना गर्न २०७७ फागुन १० गते शिलान्यास गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि प्रभावकारी रुपमा काम हुन नसकेको स्थानीयको गुनासो छ।
दैजी–छेला औद्योगिक क्षेत्रको नाममा जग्गाको भोगाधिकार नआउँदा बाँकी प्रक्रिया अघि बढ्न सकिरहेको छैन्। शिलान्यास भएको दुई वर्षमा रुख छपानका लागि लगत लिने काम मात्र सकिएको हो। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले रुख छपानका लागि लगतको काम सकिएको बताए। उनले भने, ‘मुल्याँकनको काम भएको छैन। कम्पियूटरमा इन्ट्री गर्ने काम हुँदैछ। सव डिभिजनमा काम हुँदैछ। लगतको काम भएको हो।’
दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाका लागि ४३ हजार रुख काट्न छपान गर्न लगत लिने बाहेकको काम हुन सकेको छैन्। औद्योगिक क्षेत्रभित्र ४३ हजार रुख छपानका लागि अध्यावधिकको काम जारी छ। रुखहरुको लगत लिने काम पुरा भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ। औद्योगिक क्षेत्रको शिलान्यास गर्दा पाँच वर्षभित्र निर्माण भइसक्दा दाबी थियो।
तर, रुख छपानको काम गर्न मात्रै दुई वर्ष बितेको छ। वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले अहिले पनि प्रभावकारी रुपमा रुख छपान, लगत संकलन र कटानका लागि उचित व्यवस्थापन हुन नसकेको बताए। २०५१ सालदेखि दैजी–छेलामा औद्योगिक क्षेत्र स्थापना गर्न राजनीतिक पार्टी तथा संघ÷संस्थाहरुले चुनाबी मुद्दा बनाउदै आएका छन्।
सरकारले पहिलो चरणमा सडक, नाली र भौतिक संरचना निर्माण हुने क्षेत्रका रुख काट्ने योजना बनाएको छ। वेदकोट नगरपालिका–२ को जनचेतना सामुदायिक वन र वडा नम्बर ३ को वेदकोट सामुदायिक वन क्षेत्रको तीन सय बिघा जमिनमा सुरुमा औद्योगिक क्षेत्र स्थापना गरिनेछ। आवश्यकता अनुसार जग्गाको क्षेत्रफल बढाइने छ। ९ अर्ब लगानी अनुमान गरिएको सो क्षेत्रमा साना, मझौला र ठुला गरी एक सय २४ उद्योग स्थापना गर्ने सरकारी योजना छ।