सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको पारशिला मन्दिरको चिनारी  

२०७९ चैत्र २८, ०४:२०

दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका हुनैनाथ वडा नम्बर ४ औल्लेक गाउँको सिरानमा अवस्थित आराध्यदेव हुनैनाथ मन्दिरभन्दा करिब १ किलोमिटर तल पश्चिमतिर पारशिला मन्दिर रहेको छ । पारशिला मन्दिरकै नामबाट पारशिला गाउँ पनि छ। पारशिलाको पश्चिम र उत्तरतिर रानीपातल रहेको छ । रानीपातलमा विभिन्न प्रजातिका वनस्पति र जंगली जनावर र चराचुरुङ्गीहरू पाइन्छन्।  प्राचीन कालमा यस ठाउँमा हुनैनाथको ज्योतिर्लिङ्ग (शिला) अलौकिक शक्तिपुञ्ज भएका कारण भक्तजनहरूलाई मनोवाञ्छित फल प्राप्त हुने,  हारगुहार सुन्ने, उचित न्याय सम्पादन गर्ने,  भक्तजनहरूलाई बरदान दिने र आपद्विपद्मा परेका व्यक्तिलाई समस्याबाट पार लगाउने भएकाले ज्योतिर्लिङ्ग भएकोले उक्त स्थानको नाम पारशिला रहन गएको लोकोक्ति छ।

पारशिला पार र शिला शब्द मिलेर बनेको छ। जहाँ पार भनेको मनोकांक्षा पूरा हुने र शिला भनेको ज्योतिर्लिङ्ग भन्ने हुन्छ। पारशिलाको शाब्दिक अर्थ मनोकांक्षा पूरा गर्ने लिङ्ग भन्ने बुझिन्छ। पारशिलामा अवस्थित अद्भूत शक्तिका कारण यसलाई अपार शिलाको नामले पनि आराधना गरिन्छ।

प्राचीन कालमा पारशिला मन्दिर क्षेत्र वरपर मल्ल राठीको मानवबस्ती बढ्दै गएपछि उनीहरू आफूलाई सर्वशक्तिमान सम्झी अन्य जातिका मानिसहरूसँग जाइलाग्ने, स्त्री लम्पट, अन्याय, अत्याचार र दुष्कर्म गर्न थाले। एक दिन भक्तजनहरूले शिलाको पूजागर्न जाँदा शिला नभेटिएपछि भक्तजनहरू अचम्मित भए। त्यसै दिनदेखी मल्लहरूको बस्तीमा विभिन्न बेथिती हुन थाल्यो। उनीहरूका स्त्रीबाट अस्वभाविक बच्चा जन्मिने, गर्भ तुहिने, मानिसमा पागलपन देखापर्ने, र गाईवस्तुहरू रुखमा समेत चढ्न थाले। यस्तो कुलक्षण देखिन थालेपछि सबै भक्तजनहरू समस्याबाट उन्मुक्तिका लागि हुनैनाथको आराधना गर्न थाले।

जय बोल, जय बोल, जय जय जय बोल हुनैनाथ स्वामीको !

चरण स्पर्श ध्यान गरौँ, फूल समाई जय जय सबले बौलौँ!!

एक दिनमा, एक छिनमा !

हर घडीमा, हर क्षणमा हो ! क्षण क्षणमा हो !!

धूप दीप बाली, आरती उतारी !

हर घडीमा,  हर क्षणमा हो ! क्षण क्षणमा हो !!

मन्दिर गई ढोका उघारी !!

स्वामीको दर्शन गरी, फूल अक्षताले पूजन गरी !!

जय बोलो, जय जय गरी !

हर घडीमा,  हर क्षणमा हो ! हर क्षणमा हो !!

जय बोलो भागाश्री की, जय बोलो द्यौपारानी की !

जय बोलो जय बोलो, जय जय जय बोलो !!

निर्धनीलाई धन दिने, जय हुनैनाथ !

अपुतलाई पुतदिने , जय हुनैनाथ !!

रोगव्याधी विनास गर्ने, दु:ख कष्ट दूर गर्ने !!

जय हुनैनाथ, जय जय जय ...

हुनैनाथ स्वामीले हामी सबैको कल्याण गरून् ।

यसरी स-भक्तिपूर्वक सबैले हुनैनाथको बन्दना गर्दैगर्दा आकाशवाणी भएछ। तिमी ताकला, डाङरहरूले मेरो वासस्थान वरपर दुष्कर्म गरेर दूषित वातावरण गरेर मलाई अपवित्र बनाउने चेष्टा गर्यौ। यो ठाउँमा बस्दा मैले हलियाको हाँक र मरेको डाड सुन्नु परेको छ। त्यसैले मेरो शिला लुप्त भएको हो। हे भक्तहरू! म माथि आस्था राख्छौँ भने यो ठाउँको अलि माथि पूर्वपट्टी डाँडामा वृक्षमुनि बिरालो कराउँदै बसेको हुनेछ। बिरालो भएको ठाउँमा वृक्षमुनि दियो बलेको हुनेछ। सबै भक्तहरू त्यहीँ ठाउँमा आएर आजदेखि मेरो नाममा पूजाआजा गरेमा मनोकामना पूर्ण हुनेछ। र, पारशिलामा पनि मेरJ नामले पूजापाठ गर्दै रहनू भनेछन्।

त्यसपछि आकाशवाणी बन्द हुन्छ। सबै जना उक्त ठाउँमा गएर हेर्दा बिरालो कराइ रहेको र धपधपी दियो जलिरहेको देखेछन्। सबैले भक्तिभावपूर्वक स्तुति गर्दै पूजापाठ गरेछन्। र, सोही दिनदेखि आराध्यदेव हुनैनाथको सोही ठाउँमा पूजापाठ गर्न थालिएको हो।

पारशिला मन्दिरको अर्को पनि चमत्कारिक रहस्य रहेको छ। समल देशबाट समलघाँट उडेर पारशिलामा नै अवतरण भएको थियो। हाल यो ठाउँमा हुनैनाथको भणारीघर रहेको छ। देवकार्य सम्बन्धी छलफलगर्ने पवित्र स्थलको रुपमा पारशिला रहेको छ। हुनैनाथको मूल मन्दिरमा उपहारसहित पूजापाठ गर्नेहरू पारशिलाको दर्शन गरेर मन्दिरमा जाने गर्दछन्।

यसै सन्दर्भमा आराध्यदेव हुनैनाथको चमत्कारिक महिमाको बारेमा वर्णन गर्नु पर्दा हुनैनाथको भक्तिगाथा, झोडो, सगुन, फाग आदिबाट मैले सुनेका, पढेका, विभिन्न पुस्तकहरूको अध्ययनबाट जानकारीमा आएका हुनैनाथका थुप्रै चमत्कारहरू छन्।

तर, ती चमत्कारहरूको बारेमा मैले यस लेखमा समेट्न खोज्दा कतै पाठकहरूले मलाई हुनैनाथको बढाइचढाइ गरेको आरोप पनि लगाउने हुन कि भन्ने संकोचले ती चमत्कारिक घटना परिघटनाहरू  पाठकहरूलाई जिज्ञासा भएमा यस पछिको लेखमा उल्लेख गर्ने नै छु। जे होस् हुनैनाथको संरक्षणमा हंशराज भट्ट बाहेक बिरालोलाई पनि हुनैनाथको अवतारको रुपमा रहेको विश्वास गरिन्छ।

'अहिले पनि औल्लेकीको बिल्लो, पत्यालको गुनो' भन्ने उक्ति छ। पारशिलाको परिदृश्य चित्रण गर्दैगर्दा समलघाँट प्रसंगलाई यस लेखमा समावेश गर्नु सान्दर्भिक ठानेको छु।

समलघाँट प्रसङ्ग

यस लेखमा आराध्यदेव श्री हुनैनाथ स्वामीबाट भए गरेका केही चमत्कारिक महिमा पनि उल्लेख गर्नु सान्दर्भिक देखिन्छ। हुन्शिकरको चमत्कारिक महिमा मध्ये यो आलेखमा समलघाँट प्रसङ्गलाई जोड्न गइरहेको छु।

प्राचीन कालमा औल्लेकमा हुन्शिकरको अवतारपछि मूल मन्दिरसमेत निर्माण भइ यहाँका जनमानसमा हुन्शिकर प्रतिको श्रद्धा, भक्ति र विश्वासले गर्दा भक्तजनबाट देव पुजन गर्ने र मनोवाञ्छित फल प्राप्तहुने जनविश्वास रहेको थिया। यो विश्वास अहिले पनि कायमै छ।

प्राचीन कालमा औल्लेकी हंशराज भट्टका छोराहरू र अन्य छिमेकीहरू भारतको अल्मोडा बजारबाट घरका लागि चाहिने सरसामानहरू (लत्ता कपडा, नुन, भाँडाकुँडा आदि) ल्याउने गर्दथे। आफूसँग भएको भटमास, घिउ, गुड लगायतका सामानहरूको बिक्री पनि गर्दथे। त्यो समय अल्मोडालाई समल देश भनिन्थ्यो। अल्लेकीहरूले घरमा चाहिने सामन किनवेच गरेर घर फर्कने बेलामा आफ्नो ईष्टदेव हुन्शिकर देवतालाई उपहार स्वरुप घण्ट चढाउने इच्छा जागेछ। घण्ट खरिद गर्न विभिन्न पसलहरू चहारेर बल्लतल्ल एउटा पसलमा हुन्शिकर देवतालाई चढाउन सुहाउनेखालको घण्ट फेला पारेछ। पसलेसँग घण्टको मोलमोलाइ भएपछि उक्त घण्टका लागि आवश्यक रकम नपुग भएछ।

औल्लेकीहरूले 'यो घण्ट हाम्रो देवतालाई सुहाउने खालको छ, नपुग रकम हामी दोस्रो पटक आउँदा चुक्ता गरौँला, घण्ट दिनुहोस्। अहिले दिन सकिँदैन भने अर्को पटक आउँदा लगौँला; यसलाई अरुलाई नबेच्नु होला' भनेर पसलेलाई अनुरोध गर्दा पसलेले रिसाएर 'देवताको धाक फुर्ती किन लगाउनु हुन्छ?  तपाईको देवताको लागि सुहाउने घण्ट हो भने या त घण्टको पूरै पैंसा चुक्ता गर; हैन भने तपाईको देवतालाई साँच्चिकै सुहाउने र देवता साँच्चिकै शक्तिशाली छ भने देव शक्तिले आफै लगोस्। अन्यथा कुनै उपाय छैन, उधारो दिन सकिँदैन' भनेछन्।

पसलेले यति कुरा भन्दै गर्दा साँच्चिकै उक्त घण्ट जमिनबाट उठेर घन्घनी बज्दै आकाश मार्ग हुँदै उडेर पूर्व दिशातिर लागेछ। यस्तो अचम्मित चमत्कारिक दृश्य देखेर सबै जना छक्क परेछन्। सबैले हुनैनाथको स्तुति वन्दना गरेछन्।

                  हुनैनाथको स्तुति !!!

              पवित्र नाथ । प्रभु हुनैनाथ ।।

             रानीवन छ मुन्तिर माथि मन्दिर ।।

             काखमा छन् नरनारी हरे, मन्दिर छ टाकुरीमा ।

            पथमा लाउँछौ भक्तलाई, समाइ पाखुरीमा ।।

            फुट्लिङ्ग हुन थापना होइन, मन्दिर हुनैनाथमा ।

            पूर्णिमाको जून जस्तै मुकुट छ माथमा ।।

           महिमा तिम्रो अपरम्पार, कोटी कोटी नमस्कार ।

           हाम्रो इज्जत राखीदियौ, शक्ति भो साकार ।।

              तत्पश्चात उक्त घण्ट आकाश मार्ग हुँदै बज्दै केही समय पछि औल्लेक गाउँको पारशिलामा अवतरण भएछ। उक्त चमत्कारी घाँट औल्लेकीहरूले देखेपछि सबै जना भेलाभइ उक्त घाँटको दर्शन गरी विभिन्न शंका, उपशंका र अड्कल गर्न थालेछन्।

केही दिन पछि समल देशबाट सामान किनेर औल्लेकी घर फर्केर सबै वृत्तान्त बताए पछि सबै नरनारीहरू नतमस्तक भइ आराध्यदेव हुनैनाथको जय जय कारगर्दै उनको महिमाको प्रशंसा गर्न थाले छन्।

समल देशबाट उडेर बज्दै आएको उक्त घाँटलाई हालसम्म पनि समलघाँट भनेर पुकारिन्छ। यो चमत्कारी अद्भूत शक्ति भएको घाँट (घण्ट) मन्दिरको गव्यूरभित्र सुरक्षित रहेको छ । चमत्कारी शक्ति भएकै कारण सबैका लागि दर्शन गर्न खुला नराखिए पनि उपवास बसेर शुद्ध तनमनले भेटी चढाएर दर्शन गर्न सकिने प्रचलन रहेको छ।

यो आलेख विभिन्न पुस्तकहरू, गुगल, यु ट्युव, इतिहासका जानकारहरूसँग सम्पर्क गरेर तयार गरिएको हो। पाठकहरूलाई थप जनाकारी भएमा उपलब्ध गराइ सहयोग गरिदिन हुन विनम्र अनुरोध छ।

                                             मान सिंह धामी

                                            मालिकार्जुन गाउँपालिका

                                   हुनैनाथ - ४ गोठ्युडी (भौनबाटा)

                                                    दार्चुला

स्रोत :

धामी, राजेन्द्र र दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर दार्चुला ।

पाण्डेय,बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास । भारत

पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास । महेन्द्रनगर ।  

कमेन्ट लोड गर्नुस