नवलपरासीको फोर ब्रदर्श गौरीगङ्गा गोल्डकपको सेमिफाइनलमा
कैलालीः नवलपरासीको फोर ब्रदर्श फुटबल क्लबले गौरीगंगा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।
आइतबार बाजुराको रानीवन फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै फोर ब्रदर्श एफसी सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो। ‘जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ मा कैलालीको स्टार सिटी युवा क्लब, बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन्।
आइतबारको खेलमा फोर ब्रदर्शका कप्तान विनोद केवटले २ गोल गरे। खेलको ४२ औँ मिनेटमा उनको गोल मार्फत फोर ब्रदर्शले अग्रता बनाउँदा पहिलो हाफको खेल १–० मा सकियो। ८४ औँ मिनेटमा केवटकै गोल मार्फत फोर ब्रदर्शले अग्रता दोब्बर बनायो। त्यसको ३ मिनेट पछि खेलको ८७ औँ मिनेटमा रानीवनका अभिषेक यादव आत्मघाती गोल गर्न पुगे। निर्धारित ९० मिनेटमा ३–० ले अघि रहेको फोर ब्रदर्शका लागि सुमित मल्ले थपिएको समयमा १ गोल गरेपछि उसले प्रतियोगितामा सहज जित निकालेर अन्तिम चारमा स्थान पक्का गरेको हो।
फाइनल प्रवेशका लागि फोर ब्रदर्शले मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबको सामना गर्ने छ। त्यस पछि पहिलो सेमिफाइनलमा सोमबार कैलालीको स्टार सिटी र कोहलपुर रेसिङ सहारा क्लब बाँकेको प्रतिस्पर्धा हुने छ। ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ।
१० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ।