सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका तीन युवा ठगिए, फर्जी भिसा देखाएर डेढ लाख झ्वाम

२०७९ चैत्र २१, ०४:३२ खबर संवाददाता

धनगढीः मलेसियाबाट भिसा आएको भन्दै फर्जी भिसा देखाएर बैतडीका तीन युवाबाट रकम असुली गरिएको छ। बैतडीकै एक व्यक्तिले डेढ लाख रुपैयाँ खाएको पीडितको गुनासो छ। बैतडीको शिवनाथ गाउँपालिका–१ का शेर साउँद, सहदेव साउँद र दशरथसिंह साउँदबाट जनही ५० हजार असुलेर शिवनाथ–६ का नरेन्द्र भट्टले खाएको आरोप लागेको छ।

आफ्ना तीन जना भाइबाट डेढ लाख खाएर नरेन्द्र भट्ट फरार रहेको र पैसा फिर्ता माग्दा गाली गलौज गर्ने गरेको मदनसिंह साउँदले बताए। भट्टले मलेसियाबाट भिसा आएको भन्दै नक्कली भिसा देखाएर १० जना युवालाई ५० हजारका दरले खातामा अग्रिम पैसा हाल्न भनेकाले पैसा दिएको साउँदले बताए।

अन्य युवाले के गरे त्यो थाहा नभएको तर आफ्ना तीन जना भाइले जनही ५० हजार खातामा हालेर काठमाडौं जाँदा मलेसियाबाट भिसा नआएको थाहा भएको धामीले बताए। भट्टले सोनी इन्टरन्यासलन रिक्रुटमेन्ट सर्भिसेजको कोअर्डिनेटर डाइरेक्टर र कोअर्डियल इन्टरन्यासनल प्रालिको प्रमुख कार्यकारी निर्देशक रहेको बताउने गरेको साउँदले बताए।

भट्टको म्यानपावर कम्पनीको कार्यालय पुतली सडक र पिङ्गलास्थान, काठमाडौंमा रहेको उनले वितरण गरेको भिजिटिङ कार्डमा उल्लेख छ। डेढ लाख लिएर सम्पर्क बिहिन भएका भट्टले फोन पनि नउठाउने उठाएपनि पैसा फिर्ता दिनुको सट्टा उल्टै गालीगलौज र धम्की दिने गरेको पिडितको गुनासो छ।

कमेन्ट लोड गर्नुस