सेती अस्पतालले सटरको भाडा उठाउन सकेन
धनगढीः सेती प्रादेशिक अस्पतलले सटरको भाडा उठाउन सकेको छैन्। सटर भाडावाफत २ करोड बढी रकम उठ्न सकेको छैन। अस्पतालले २६ वटा सटर भाडामा लगाएकोमा १२ पसल सञ्चालकले १३ वटा सटरको २ करोड ५ लाख १२ हजार ६२२ रुपैयाँ तिरेका छैनन्।
विभिन्न १२ जना व्यक्तिले १३ वटा सटरको २ करोड ५ लाख १२ हजार ६२२ रुपैयाँ भाडावाफतको रकम बुझाएका छैनन्। धनगढी उपमहानगरपालिकाले सडक चौडा गर्न पसल भत्काएको, पसलबाट अस्पतालले प्राप्त गर्नुपर्ने भाडा रकम असुल नहुँदा आर्थिक समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।
‘हामीले जुन पसल भाडामा लगाएका थियौँ ती पसल भत्काउनु परेको छ भने २ करोड बढी भाडा रकम पनि उठेको छैन’, उनले भने, ‘अस्पताल व्यवस्थापन समितिले पटकपटक लिखित र मौखिक भन्दा पनि ठूलो रकम उठ्न सकेको छैन। जसले गर्दा हामीलाई विभिन्न सेवा सञ्चालन गर्न समस्या भएको छ।’
सेती अस्पतालको सटर भाडामा लिएको साझा स्वास्थ्य सेवाले सबैभन्दा बढी रकम तिरेको छैन। साझाले अस्पताललाई ७५ लाख ८८ हजार ८ सय तिरेको छैन। त्यस्तै, अस्पतालको दुई सटर भाडामा लिएका भुवनराज पाठकले ४१ लाख ८३ हजार ५९२ रुपैयाँ तिर्न बाँकी छ। मनोज मेडिकल हलका सञ्चालक लोकबहादुर रावलले १९ लाख ५४ हजार ८८४ रुपैयाँ तिर्न बाँकी छ।
अस्पताललाई जोशी ट्रेडिङका सञ्चालक तेजराज जोशीले १८ लाख ८१ हजार ६४४, केएम फार्मेसीका टंकबहादुर कुँवरले १५ लाख ९३ हजार १८६, न्यू बिएस सन्दीप ट्रेडर्सका दीनबन्धु गुप्ताले ९ लाख ३९ हजार ७११, न्यू ममता स्टोरका ममतादेवी चौधरीले ८ लाख २० हजार ६५७, सुदूरपश्चिम डेन्टल ल्याबका दिनेश आउजीले ५ लाख ५ हजार ७६२, स्माइल डेन्टल केयरका गणेशप्रसाद भट्टले ३ लाख ८५ हजार ६६२ र शिखर मेडिकलका हरिलाल जोशीले ६२ हजार ४०८ रुपैयाँ भाडा सेती प्रादेशिक अस्पताललाई बुझाएका छैनन्।
भाडा नबुझाउने व्यक्तिलाई अविलम्ब भाडा रकम बुझाउन पत्राचार गरिएको सूचना अधिकारी मेखराज उपाध्यायले बताए। सेती अस्पतालले पटकपटक पत्राचार र मौखिक रुपमा ताकेता गर्दा पनि एक दर्जन व्यक्तिले पसलको भाडा नतिरेको जनाएको छ। एक दर्जनमध्ये दुई जनाले भने २०८० साल बैशाख महिनाको मिति राखेर अस्पताललाई चेक दिएका छन्।
जनता मेडिकल हलका नरेशदत्त भट्टले १ लाख ४३ हजार ६३९ तिर्नुपर्नेमा उनले बैशाख २७ गतेको मिति राखेर अस्पताललाई चेक दिएका छन्। त्यस्तै बर्दादेवी मेडिकल हलका मेगेन्द्र बोहराले पनि ४ लाख ५२ हजार ६७७ रुपैयाँको चेक बैशाख २७ गतेको मिति राखेर बुझाएका छन्। अस्पतालले निरन्तर पैसा बुझाउन ताकेता गर्दा पनि अटेर गर्ने व्यक्ति उपर कानूनी उपचार खोज्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।