धनगढीको ६ लेन सडकका बिरुवा चोरी हुने क्रम रोकिएन

धनगढीः धनगढीको ६ लेन सडकका बिरुवा चोरी हुने क्रम अझै रोकिएको छैन।
मोहनापुल–अत्तरिया ६ लेन सडकका मेडियनमा उपमहानगरल रोपेका बिरुवा चोरी हुने क्रम नरोकिएको हो। यस अघि दुई पटक गरेर १९ बिरुवा चोरी भएको ६ लेन सडकबाट मङ्गलवार राति थप सात वटा बिरुवा चोरी भएको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।
कैलाली भन्सारदेखि गेटा विमानस्थल जाने सडकसम्म ६ लेन सडकको मिडियनमा विभिन्न जातका ३ हजार ९० बिरूवाहरू धनगढी उपमहानगरपालिकाद्वारा र विमानस्थल जाने सडकदेखि गोदावरी नगरपालिकाको सिमानासम्म सूर्य नेपाल प्रालिको सहयोगमा ४१५ बिरुवासहित ३ हजार ५०५ बिरूवा रोप्ने कार्य सम्पन्न भएको थियो।
तर, मङ्गलवार राति धनगढी उपमहानगरपालिका ६ लेन सडक खण्डको नेसनल चोकदेखि कैलाली भन्सार जाने बाटोसम्मको सडक खण्डबाट थप ७ वटा बिरुवा चोरी भएको नगरप्रमुखको सचिवालयले जनाएको छ।

